पत्रकार खाशोज्जी हत्यामा पाँच जनालाई मृत्युदण्डको सजाय

तीन जनालाई २४ वर्षको जेल

साउदी अरबको एक अदालतले पत्रकार जमाल खाशोज्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मुत्युदण्डको सजाय सुनाएको छ। तीन जनालाई सबै जोडेर २४ वर्षको जेल सजाय सुनाइएको छ।

साउदी सरकारका आलोचक पत्रकार खाशोज्जीको २ अक्टोबर २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा हत्या भएको थियो। 

सीआइए र पश्चिमा देशका सरकारले खशोग्जीको हत्या गर्न साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले आदेश दिएको आरोप लगाएका थिए। यद्यपी साउदी अधिकारीले त्यो स्वीकारेका थिएनन्।

उक्त घटनापछि सलमानको छविमा ठूलो धक्का पुगेको थियो। त्यस घटनापछि विश्वको सबैभन्दा बढी तेल निर्यात गर्ने देशका राजकुमार सलमानले अमेरिका र यूरोपको भ्रमण गरेका थिएनन्।

‘द क्राउन प्रिन्स अफ साउदी अरेबिया’ नामको वृत्तचित्रमा सलमानले घटनाको जिम्मा लिने बताएका थिए। सलमान भनेका थिए,‘म हुँदा हुँदै यस्तो दुखद् घटना हुन गयो। म यसको पुरा जिम्मा लिन्छु।’

सरकारी अभियोजकका अनुसार क्राउन प्रिन्सका सल्लाहकार सउद अल खतानीसँग सोधपुछ गरिएको थियो, तर उनीमाथि कुनै आरोप लगाइएको छैन।

यो घटनामा टर्कीले १८ संदिग्धलाई बुझाउन माग गरेको थियो, जसमा १५ एजेन्ट थिए र उनीहरु हत्याको योजना सफल बनाउन इस्तानबुल पुगेको टर्कीको दाबी थियो। तर साउदीले टर्कीको माग अस्वीकार गर्‍यो। तर गत जनवरीमा खाशोज्जीको हत्याको मुद्दामा ११ अभियुक्तबारे रियादमा सुनुवाई सुरु भएको थियो।
 

प्रकाशित मिति: : 2019-12-24 05:11:22

प्रतिकृया दिनुहोस्