चितवन राईनोजलाई पीपीएलको उपाधि

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि चितवन राइनोजले जितेको छ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै चितवनले उपाधि जितेको हो।

खेलमा टस हारेर ब्याटिङ गरेको चितवनले पूरै ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०२ रनको विशाल योगफल तयार गरेको थियो।  

प्रतियोगिताको उपाधिका लागि २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७० रनमा समेटियो।  

शुरुआती ब्याट्सम्यान मोहमद जैद आलमले पाँच चौका र तीन छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन असमर्थ भए।  

चितवनका करण केसीले आफ्नो चार ओभर बलिङमा सन्नी पटेलले दुई र रोहन मुस्ताफाले एक विकेट लिएका थिए।

चितवनको विशाल योगफल तयार गर्नमा रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गरेका थिए। मुस्ताफाले ४३ बलमा ५० रन जोडे भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिएका थिए।

चितवन दोस्रो संस्करणमा अपराजित रहँदै उपाधि जित्न सफल भएको हो।  गत संस्करणमा भने चितवन घरेलु टोली पोखरा पल्टनसँग पराजित भएको थियो। पीपीएल उपाधिसँगै पारसले नेपालमा हुने तीनवटै फ्रेन्चाइज क्रिकेटको उपाधी जित्न सफल भएका छन्।

यसअघि उनको कप्तानीमा रहेको टिमले एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको उपाधि उचालेका थिए। चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो। उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार पाएको छ।  


 

प्रकाशित मिति: : 2019-12-29 07:45:06

प्रतिकृया दिनुहोस्