‘भ्रमण वर्ष–२०२० नेपाली पर्यटनको ‘माइलस्टोन’ सावित हुँदैछ’

भ्रमण वर्षलाई सफल तुल्याउन जनवरी ७ मा विदेशी नियोगहरूमा विश्वव्यापी प्रचारप्रसारको कार्यक्रम

भ्रमण वर्ष–२०२० को उद्घाटन आज जनवरी १ मा भब्यताका साथ हुदैछ।

यस अवसरमा ४० देशका पर्यटनमन्त्रीको आगमन भइरहेको छ। पर्यटन क्षेत्र देशको आर्थिक समृद्धिसँग जोडिएको हुनाले भ्रमण वर्षलाई सरकारले आधार वर्षको रूपमा मनाउने तयारी गरिरहेको छ। 

आज साँझ दशरथ रंंगशालमा उद्घाटन कार्यक्रम आयोजना हुँदा ७ वटै प्रदेशको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत हुनेछ। 

भ्रमण वर्षलाई सफल तुल्याउन जनवरी ७ मा विदेशी नियोगहरूमा विश्वव्यापी प्रचारप्रसारको कार्यक्रम रहेको छ।

सरकारले एक वर्षभित्र राष्ट्रिय लक्ष्य पुरा कसरी गर्ने? अहिले प्राप्त उपलब्धीको आधारमा आगामी वर्ष कसरी अगाडि बढ्ने भन्ने विषयमा योजना बनिरहेको छ। 

पर्यटन वर्ष–२०२० सरकार र निजी क्षेत्रको संयुक्त कार्यक्रम हो, जुन राष्ट्रिय लक्ष्यसँग जोडिएको छ। यसलाई सफल बनाउन तीन तहकै सरकार उत्तिकै जिम्मेवार हुनुपर्छ। पर्यटन नीतिभित्र रहेर बनेका कानुन अन्र्तगत हामीले यस क्षेत्रको विकास र विस्तारलाई अगाडि बढाइरहेका छाैं। 

नेपाली पर्यटन विकासका लागि विदेशी बजारसँग नेपाली उत्पादनलाई कसरी सम्वन्य गर्ने भन्ने महत्वपूर्ण पाटो हो। जस्तो कि नेपाल भित्रिएका पर्यटकलाई लामो समय देशमा बस्ने वातावरण तयार पार्न र राष्ट्रिय उत्पादनलाई उनीहरूको रुचिअनुसार सम्वन्य गर्न जरुरी छ। 

यसका लागि केही गन्तव्य स्थललाई नीतिगत रूपमै ‘व्याकअप’ गर्न निजी क्षेत्रले अगाडि ल्याएका योजना तथा कार्यक्रमलाई सरकारले पूर्णरुपले सहयोग गर्नेछ।

यो वर्ष पर्यटन प्रवद्र्धनमा सुसुप्त रहेको हाम्रो सोच र संरचनालाई जगाउने वर्ष हो। सरकारले सन् २०१३ मा अगाडि ल्याएको १५ ‌अैा‌ पञ्चवर्षीय योजनामा अवको १० वर्षभित्र नेपाललाई पर्यटनको स्थापित गन्तव्यको रुपमा विकास गर्ने भन्ने छ।

यसका लागि हाम्रा अनगिन्ति गन्तव्य स्थल, भौगोलिक संरचना, सांस्कृतिक धरोहर, धार्मिक सम्पदालाई अगामी १० वर्षभित्र कसरी स्थापित गर्ने भन्ने योजना बनाएर अगाडि बढ्न जरुरी छ।

नेपालले १ अर्वभन्दा बढी जनसंख्या भएको भारत र चीन अनि १४ करोड जनसंख्या भएको बंगलादेशबाट मात्र पर्यटक भित्र्याउन सके पर्यटनमा ठूलो टेवा पुग्छ। सरकारले मापदण्ड तोक्ने हो। त्यसलाई पुरा गर्ने काम निजी क्षेत्रको हो।  

‘ग्रेट हिमालय ट्रेल’ जहाँ ट्रेकिङ्ग रुटको प्रयोग गरेर पर्यटक जाने गर्छन्। जहाँ १२ दिनको बसाईं हुन्छ।

हिमाली क्षेत्र र ट्रेकिङ रेन्ज नभएको भए पर्यटकलाई १२ दिन टिकाउन गाह्रो हुन्थ्यो ।  

तर पछिल्लो समय सो रुटमा सडक खनेर धुलो उडाएपछि पर्यटकलाई १२ दिन टिकाउन गाह्रो भइरहेको छ। त्यसैले विकासले पर्यटक बढाउने मात्र काम गरेको छैन, घटाएको उदाहरण पनि छन्।  

पूर्वाधार विकासको कुरा गर्दा संघले सहजीकरणको भूमिका निर्वाह गर्ने हो। निजी क्षेत्र र स्थानीय सरकार मिलेर आ–आफ्नो क्षेत्रको विकास गर्नु जरुरी छ। 

हामीले सबै चिज बनायौं। तर स्थानीय उत्पादनले बजार विस्तार गर्न सकेको छैन। स्थानीय उत्पादनलाई बढावा दिने र गुणस्तरीय पर्यटक कसरी  भित्र्याउने भन्ने नै अहिलेको प्रमुख चुनौति हो। 

चितवनमा राष्ट्रिय निकुञ्जसँगै मेघौली विमानस्थल थियो, जसले गर्दा विदेशी पर्यटक विमान चार्टर गरेर घुम्न आउँथे। तर, अहिले राष्ट्रिय निकुञ्ज नजिक विमानस्थल राख्नु हुदैन् भनेपछि त्यो हटाइयो र सौराह क्षेत्रमा होटल स्थापित गरिए। 

जसले गर्दा चितवन घुम्न आउने पर्यटक अहिले अफ्रिकातिर ‘डाइभर्ट’ भएका छन्। 

त्यसैले कतिपय अवस्थामा पूर्वाधार विकासले पर्यटन क्षेत्रमा नकारात्मक असर पनि परेको छ । पर्यटन विकासको महत्वपूर्ण आधारको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मार्च महिनाको अन्तिमसम्म परीक्षण उडान हुदैछ। 

भ्रमण वर्षलाई आधार बनाएर अवको १० वर्षमा पर्यटकको संख्या ३५ लाख पुर्याउने लक्ष्य रहेको छ। हाल देशको कूल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत मात्र योगदान रहेको पर्यटन क्षेत्रको योगदान १० वर्षमा १० प्रतिशत पुर्याउने लक्ष्य सरकारको रहेको छ। 

लेखक संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता हुन्। 


 


 

प्रकाशित मिति: : 2020-01-02 00:34:08

प्रतिकृया दिनुहोस्