ए डिभिजन लिग: आर्मीसँग थ्रीस्टार पराजित, ४५ दिने प्रतिबन्धपछि सन्तोषको उत्कृष्ट पुनरागमन

त्रिभुवन आर्मीले शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टारलाई पारजित गरेको छ।

बुधबार भएको खेलमा विभागीय टोली आर्मीले थ्री स्टारलाई २–० ले पराजित गरेको हो।  

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको नवयुग श्रेष्ठले ५४ औं मिनेटमा कप्तान भरत खवासको पासमा एक्रोब्याटिक स्टाइलमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।

७९ औं मिनेटमा आर्मीले दोस्रो गोल गर्‍यो। एन्फाको प्रतिवन्धका कारण लिगको शुरुवाती तीन खेल गुमाएका सन्तोष तामाङले पुनरागमन गर्दै गोल गरे।

थ्री स्टारका अशोक खवासले जर्ज प्रिन्स कार्कीलाई लडाएपछि आर्मीले फ्रिकिक पाको थियो। सन्तोषले त्यही फ्रिकिकको सदुपयोग गर्दै गोल गरे।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि नाइट क्लबमा बिताएपछि एन्फाको अनुशासन कमिटिले राष्ट्रिय फुटबल टिमका सदस्य रहेका सन्तोष तामाङ र अन्जन बिष्टलाई  ४५ दिने प्रतिबन्ध र ५० हजार जरिवाना गरेको थियो।  

एन्फाले लगाएको ४५ दिने प्रतिबन्ध बुधबारदेखि सकिएकोले सन्तोष मैदान फर्केका थिए।

बुधबारको खेलको म्यान अफ दि म्याच पनि सन्तोष नै भए।

जितपछि आर्मी ४ खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ। समान खेलबाट १० अंकसहित मनाङ मर्स्याङदी शीर्ष स्थानमा छ भने ९ अंक जोडेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ। समान खेलबाट ७ अंकसहित थ्री स्टार पाँचौ स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-01-02 06:08:03

प्रतिकृया दिनुहोस्