गोरखनाथका १०४ विद्यार्थीलाई स्वीटर र टोपी वितरण

रासस

बनेपा
तस्बिर : एजेन्सी

पनौती नगरपालिका–६ दलिनचोकमा रहेको गोरखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरिएको छ।

न्यानो अभियानअन्तर्गत बनेपामा रहेको सर्वश्री क्वालिटी प्रिन्टर्सको आयोजनामा शुक्रबार विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको प्रेसका सञ्चालक सर्वश्री अधिकारीले बताए।

“हामीले न्यानो अभियानअन्तर्गत गोरखनाथ आधारभूत विद्यालयका १०४ विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेका हौँ”, अधिकारीले भने, “हाम्रो अभियानमा काठमाडौँ निवासी डिल्लीराज सापकोटा र शोभा सापकोटाले आर्थिक सहयोग गर्नुभएको छ।”

विद्यालय परिवारले विद्यार्थीलाई सहयोगका लागि अनुरोध गरेपछि आफूहरुले त्यहाँका विद्यार्थीलाई न्यानो अभियानअन्तर्गतको सहयोग पुर्याएको उनले बताए।

काभ्रेपलाञ्चोकमा पहिलोपटक सहयोग गरेका उनले यसअघि साथीसँग मिलेर धनुषा जिल्लाको मुसहर बस्तीमा १८० कम्बल र बर्दिया जिल्लाको सुकुम्वासी बस्तीमा १८० कम्बल र २१५ ज्याकेट वितरण गरिसकेको बताए।

जाडोको समयमा न्यानो स्वीटर र टोपी पाएपछि विद्यार्थी खुशी भएको गोरखनाथ आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटाले बताए।

“ज्याला गरेर छोराछोरी पढाउने पर्ने अवस्था भएका उहाँका तामाङ, मगर र दलित समुदायका बालिबालिका रहेकामा विद्यालयको एउटा पोशाकले मात्रै विद्यालय आउने गर्दा जाडोको समस्या र विद्यालय पोशाक धोएर नसुकेको बेला विद्यालय नै आउन नसकेको अवस्था थियो”, सापकोटाले भने, “अब स्वीटर पाएपछि न्यायो लगाएर आउन र विद्यालय पोशाक धुने समयमा स्वीटर मात्रै भए पनि लगाएर आउनलाई सहयोग पुगेको छ।"

निम्न आयस्तर भएका समुदायका विद्यार्थीले न्यानो स्वीटर पाएपछि विद्यार्थी खुशी भएका छन्। 

 

प्रकाशित मिति: : 2020-01-05 02:59:57

प्रतिकृया दिनुहोस्