चिनियाँ खेलाडी उ लिकाे गाेलमा बार्सिलोना बराबरीमा राेकियाे

स्पेनिस ला लिगा फुटबलमा लिगलिडर बार्सिलोना बराबरीमा रोकिएको छ।

स्पानियोलको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना २–२ को बराबरी रोकिएको हो। स्पानियोलका लागि डभिड लोपेज र चिनियाँ खेलाडी उ लिले एक एक गोल गरे। यता बार्सिलोनाका लागि लुईस स्वारेज र अर्टुरो भिडालले एक एक गोल फर्काए।

लोपेजले २३ औं मिनेटमा घरेलु टोली स्पानियोललाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा स्वारेजले खेल बराबरीमा ल्याए।

५९ औं मिनेटमा भिडालले बार्सिलोनालाई अघि बढाएका थिए।

तर खेलको ७५ औं मिनेटमा फ्रेन्की डी जोङ रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बन्यो।

खेल सकिन दुई मिनेट अघि उ लिले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए। बार्सिलोनाविरुद्व गोल गर्ने उनी पहिलो चिनियाँ खेलाडी बने।

लिले क्लबका लागि यस सिजन ६ गोल गरेका छन्।

शीर्ष स्थानको बार्सिलोना र रियलको समान ४० अंक छ। बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो।

तालिकाको पुछारको टिम स्पानियोलले ११ अंक जोड्यो।
 

प्रकाशित मिति: : 2020-01-05 19:29:39

प्रतिकृया दिनुहोस्