अमेरिका–इरान तनावमा कुन देश कसको पक्षमा?

एजेन्सी

काठमाडौं
तस्बिरः एपी

अमेरिकाले इरानका उच्च तहका सैन्य कमाण्डर मेजर जर्नेल कासिम सुलेमानीको हवाई हमलाद्धारा इराकमा हत्या गरेपछि अहिले मध्यपूर्वमा तनावको स्थिति उत्पन्न भएको छ।

अमेरिकाको पछिल्लो कारबाहीलाई लिएर इरानले पनि सशक्त रवैया देखाएको छ। पछिल्लो दुई दिनमा अमेरिकी बेसक्याम्प रहेको बगदादको दुई ठाउँमा बम बिस्फोट भइसकेको छ। यस्तै केन्यामा पनि अमेरिकी सेना बस्ने स्थानमा आक्रमण भएको छ।

अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले इरानको पछिल्लो कारबाहीको विरोध गर्दै फेरि अमेरिकालाई दुःख पुर्‍याएको खण्डमा इरानको ५२ ठाउँमा एकैपल्ट हमला गर्ने धम्की दिएका छन्।

अमेरिका–इरान तनावले यतिबेला पहिलो र दोस्रो विश्वयुद्व झैं संसार दुई ध्रुवमा बाँढिन थालेको छ।

ट्रम्प प्रशासनको कारबाहीलाई लिएर उनकै देशमा आलोचना भइरहेको छ। यसमा पनि चीन र रूसले कडा प्रतिक्रिया जनाएका छन्। इजरायलले भने खुलेरै अमेरिकाको समर्थन गरेको छ।

युरोपेली महासंघ भने शान्ति कायम गर्ने अभियानमा जुटेको छ। महासंघका विदेश नीति प्रमुख जोसेफ बारेलले शनिबार तनावको स्थिति नियन्त्रणमा राख्न दुबै देशसँग अपील गरेका थिए।

इजरायलले पहिलेदेखि नै सुलेमानीलाई आफ्नो देशको दूश्मन मान्दै आइरहेको थियो। यसैले अमेरिकी हवाई आक्रमणमा सुलेमानी मारिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूँले खुलेर ट्रम्प प्रशासनको तारिफ गरेका छन्। नेतन्याहूँले अमेरिकासँग आत्मरक्षाको अधिकार रहेको बताएका छन्। इजरायलले अमेरिकी नागरिक र अन्य देशका निर्दोष नागरिकको ज्यान जानुमा सुलेमानी जिम्मेवार रहेको दाबी गरेका थिए।

अमेरिका–इरानबीच तनावको स्थितिमा इंग्ल्यान्ड, फ्रान्स, साउदी अरब, जोर्डन र युएई अमेरिकाको समर्थनमा देखिन्छन्। तर, उनीहरूले खुलेरै अमेरिकाको समर्थन गरिसकेको अवस्था छैन। साउदीका राजा सलमानले इराकी राष्ट्रपति बेरहम सालेहसँग फोनमा कुरा गरेका थिए। राजा सलमानले भनेका छन्, ‘साउदी अरब इराकको स्थिरता र सुरक्षाको समर्थन गर्छ।’

सुलेमानीको हत्यापछि अमेरिकी विदेश मन्त्री माइकल पाँम्पियोले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूँसँग कुरा गरेका थिए। फोनवार्तामा दुवैले इरानबाट हुने सम्भावित हमलाको जवाफ दिन तयार रहनुपर्ने कुरामा चर्चा गरेका थिए।

बेलायती विदेश दूत डोमिनिक रावले सुलेमानीको हत्याबाट उत्पन्न स्थितिलाई नियन्त्रणमा राख्नुपर्ने बताए। उनले अहिलेको संघर्ष कसैको पनि हितमा नरहेको बताए। फ्रान्सका राष्ट्रपति इम्यानुअल माइक्रोनले पनि इराकको शीर्ष नेतृत्वसँग यो मुद्दालाई लिएर कुरा गरेका छन्।

फ्रान्सेली राष्ट्रपतिले रूसी राष्ट्रपति ब्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैय्यप अर्दोगनसँग छुट्टाछुट्टै फोन वार्ता गरेका थिए। वार्ताको क्रममा तीनै जना नेताले मध्यपूर्वको वर्तमान स्थितिलाई लिएर चिन्ता व्यक्त गरे।

चिनियाँ विदेश मन्त्री वाङ यीले भने अमेरिकाले सैन्य शक्तिको दूरूपयोग गरेको र यसलाई नियन्त्रणमा राख्न सल्लाह दिए। उनले रूसी विदेश मन्त्री सर्गेई लावरोवसँगको फोन वार्तामा अमेरिकाले ‘सैन्य दूस्साहस’ गरेको दावी गरे। रूसले पनि यसलाई अमेरिकाको ‘अवैधानिक कारवाही’ भनेको छ।

रूसी विदेश मन्त्री सर्गेई लावरोवले अमेरिकी समकक्षी पाँम्पियोसँग भने, ‘अमेरिकाको इरानमा हमला ‘अवैधानिक’ हो। अमेरिकाले इरानसँग कुरा गर्नुपर्छ।’

चीनले यस विषयमा इरानी नेतासँग कुरा गरेको थियो। चीनले अमेरिकाको कदमले अन्तर्राष्ट्रिय सम्बन्धको मूलभूत सिद्धान्त उल्लङ्घन भएको बताएको थियो। अमेरिकी कारवाहीले यस क्षेत्रमा तनाव र अशान्ति बढ्ने छ।

चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य र इरानको अहम सहयोगी हो। चीन इरानबाट तेल खरिद गर्ने प्रमुख खरिदार पनि हो। पछिल्लो सातामात्र इरान, चीन र रूसले ओमानको खाडीमा संयुक्त नौ सैनिक अभ्यास गरेका थिए। लगत्तै इरानका विदेश मन्त्रीले बेइजिङको यात्रा पनि गरेका थिए।

यो मुद्दामा यमन, लेबनन, सिरिया र प्यालेस्टिनले इरानलाई समर्थन गरेको छ। सुलेमानीको हत्यापछि इरानले अमेरिकाविरूद्ध आक्रमण गर्ने प्रण गरेको छ। इरानका सर्वोच्च नेता अयातुल्ला खुमेनीले अमेरिकालाई परिणाम भोग्न तयार भएर बस्न धम्की दिएका छन्। जर्मनीले भने तनाव कम गर्न आफू वार्ताका लागि तयार रहेको बताएको छ।

प्रकाशित मिति: : 2020-01-06 07:51:46

प्रतिकृया दिनुहोस्