ट्रम्पले गरे इरानमाथि नयाँ नाकाबन्दी लगाउने घोषणा

एजेन्सी

वासिङटन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने घोषणा गरेका छन्।

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर इरानी सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गर्दै नयाँ नाकाबन्दी लगाउने घोषणा गरेका हुन्। 

अमेरिकी राष्ट्रपतिले इरानमाथि अतिरिक्त आर्थिक प्रतिबन्ध पनि लगाउने घोषणा गरे। उनले भने, ‘युरोपले पनि इरानसँग परमाणु सन्धीबाट दूरी बनाउनु पर्नेछ। यो मूर्खता हो।’

यस्तै उनले इरानले हालै इराकस्थित अमेरिकी बेसमा गरेको हमलामा कुनै सैनिक नमारिएको स्पष्ट पारेका छन्। उनले सम्बोधनका क्रममा भने, ‘अमेरिकाले साँच्चै गर्व गर्नुपर्ने अवस्था छ। कोही पनि अमेरिकीलाई कुनै हानी भएको छैन। हाम्रो तर्फ कसैको मृत्यु पनि भएको छैन। हाम्रा सबै सैनिकहरू सुरक्षित छन्। शिविरमा केही क्षति मात्र भएको हो।’ 

उनले गत शुक्रबार इराकमा मारिएका इरानी जर्नेल कासिम सुलेमानीलाई अमेरिकाले पहिले नै मार्नु पर्ने बताए। सुलेमानीले अमेरिकी क्षेत्रमा हमलाको रणनीति बनाइरहेको पनि उल्लेख गरे। 

ट्रम्पले भने, ‘हामी इरानलाई कहिल्यै परमाणु शक्ति राष्ट्र बन्न दिन्नौं। म आफ्नो बहादुर सेनालाई अभिनन्दन गर्छु।’

अमेरिकी कारबाहीमा आफ्ना सैनिक कमाण्डर मारिएपछि इरानले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइल हमला गरेको थियो। उक्त हमलामा कोही हताहती नभएको अमेरिकाले दाबी गरे पनि इरानले भने ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको थियो ।

यसअघि आजै इरानका राष्ट्रपति हसन रूहानीले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए।

प्रकाशित मिति: : 2020-01-09 21:00:18

प्रतिकृया दिनुहोस्