मछिन्द्र र मनाङका ६ खेलाडीलाई प्रतिबन्धसहित आर्थिक जरिवाना !

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङ र मछिन्द्रबीचको खेलमा विवादमा उत्रने ६ खेलाडीलाई प्रतिबन्ध गरिएको छ।

सहिद स्मारक ए डिभिजन लिगको खेल लगत्तै झै–झगडामा उत्रने ६ खेलाडीलाई एन्फाले दुवै क्लबका ६ खेलाडी र एक अफिसियललाई लिग खेलमा प्रतिबन्धसहित आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो।  

एन्फाको अनुशासन कमिटिले मनाङ र मछिन्द्रका समान ३ खेलाडीलाई आर्थिक जरिवाना सहित प्रतिबन्ध लगाएको छ। जसमा मनाङका एक अफिसियल समेत रहेका छन्।

एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्ध सहित १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

अशोक बराललाई ६ खेल सहित १० हजार जरिवाना गरिएको छ। उनले रातो कार्ड समेत खाएका थिए। सोही कारण उनले लिगका ६ खेल गुमाउनेछन्।  

मनाङकै रञ्जन विष्टलाई दुई खेलको प्रतिबन्ध गरिएको छ।

यस्तै, मछिन्द्रका दिपक राई, देबेन्द्र तामाङ र विजय धिमाललाई समान २ खेलको प्रतिबन्ध गरिएको छ।

मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार जरिवाना गरिएको छ।

एन्फाले दुवै क्लबलाई समान ५० हजार जरिवाना गरेको छ।

लिग अन्तर्गत सोमबार दशरथ रंगशालामा उपाधि दावेदार र हाल लिगका दुई शीर्ष टोलीबीचको खेल रोमान्चक हुने अपेक्षा थियो। र रेफ्रीले फाइनल व्हिसल बजाउँदासम्म त्यहि भयो पनि। दुवै टिमले निर्धारित समयमा २–२ गोलको बराबरी खेले।

तर फाइनल व्हिसल बजेलगत्तै राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङका जगजित श्रेष्ठले मछिन्द्रका फरवार्ड दीपक राईमाथि दुर्व्यवहार गरेपछि सुरु भएको झगडाले उग्र रुप लिएको थियो।

खेलाडी हातपातमा उत्रिएपछि प्रहरी लगाएर मैदान खाली गराउनु गरेको थियो।

प्रकाशित मिति: : 2020-01-10 09:47:09

प्रतिकृया दिनुहोस्