प्रतिबन्धमा परेकाे दुःखभन्दा बढी मछिन्द्रसँग नहारेको कुरामा गर्व छ: जगजित

बिएल संवाददाता

काठमाडाै‌ं

सहिद स्मारक ए डिभिजन लिगका दौरान प्रतिबन्धमा परेका मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर जगजित श्रेष्ठले आफू दोषी नभएको दाबी गरेका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग अन्तर्गत सोमबार दशरथ रंगशालामा भएको उपाधि दावेदार मनाङ र मछिन्द्रबीचको खेलको विवादमा ५ खेलको प्रतिबन्धसहित १० हजार रुपैयाँ जरिवाना तिराएका श्रेष्ठले आफू निर्देश रहेको बताएका हुन्। 

'त्यो अन्तिम समयको कर्नर, त्यस्तो ठूलो खेल,आफ्नो डिबक्सभित्र कसरी डिफेन्ड गर्ने तरु मैले त विपक्षीलाई डिबक्स बाहिर ठेलेको हुँ,जुन मैले आफ्नो टिमको लागि गर्नैपर्थ्यो,अनि बल्ल खेलको अन्तिम सिठ्ठी बज्यो', जगजितले सामाजिक सञ्जालमा लेखेका छन्,'ठीकै छ त्यसपछि त म फर्के सरासर। पछि अरु खेलाडीहरू आए झगडा गरे,यसमा मेरो के दोष?'

जगजितले एन्फाका मानिसहरूले आफूलाई मन नपाएको लेख्दै आफूले पनि मन नपराउने गरेको उल्लेख गरेका छन्। म वर्तमान एन्फाका कोही मान्छेसँग बोल्दिन्, मलाई उनीहरुले मन पराउँदैनन् उनले लेखेका छन् त्योभन्दा दश गुणा बढी म उनिहरुलाई मन पराउदिनँ।

उनले प्रतिबन्ध भएको कुरामा दुःखभन्दा बढी मलाई मछिन्द्रसँग नहारेको कुरामा गर्व लागेको बताएका छन्। 

'मलाई प्रतिबन्ध भएको कुरामा दुःखभन्दा बढी मलाई मछिन्द्रसँग हामी नहारेको कुराको गर्व छ।' उनले लेखेका छन् 'लिग सुरु हुनभन्दा अगाडीदेखी मेरो काखी आएको पिलोहरुको निरन्तर पिडाको बाबजुत पनि मनाङलाई केहि सहयोग गर्न सकेकोमा खुशी छु।'

लिग अन्तर्गत सोमबार दशरथ रंगशालामा उपाधि दावेदार र हाल लिगका दुई शीर्ष टोलीबीचको खेल रोमान्चक हुने अपेक्षा थियो। र रेफ्रीले फाइनल व्हिसल बजाउँदासम्म त्यहि भयो पनि। दुवै टिमले निर्धारित समयमा २–२ गोलको बराबरी खेले।

तर फाइनल व्हिसल बजेलगत्तै राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङका जगजित श्रेष्ठले मछिन्द्रका फरवार्ड दीपक राईमाथि दुर्व्यवहार गरेपछि सुरु भएको झगडाले उग्र रुप लिएको थियो।

खेलाडी हातपातमा उत्रिएपछि प्रहरी लगाएर मैदान खाली गराउनु गरेको थियो।

खेल लगत्तै झै–झगडामा उत्रने ६ खेलाडीलाई एन्फाले बिहिबार दुवै क्लबका ६ खेलाडी र एक अफिसियललाई लिग खेलमा प्रतिबन्धसहित आर्थिक जरिवाना गर्ने निर्णय गरेको छ।  जसमा मनाङका एक अफिसियल समेत रहेका छन्।

एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्ध सहित १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

अशोक बराललाई ६ खेल सहित १० हजार जरिवाना गरिएको छ। उनले रातो कार्ड समेत खाएका थिए। सोही कारण उनले लिगका ६ खेल गुमाउनेछन्।  

मनाङकै रञ्जन विष्टलाई दुई खेलको प्रतिबन्ध गरिएको छ।

यस्तै, मछिन्द्रका दिपक राई, देबेन्द्र तामाङ र विजय धिमाललाई समान २ खेलको प्रतिबन्ध गरिएको छ।

मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार जरिवाना गरिएको छ।

एन्फाले दुवै क्लबलाई समान ५० हजार जरिवाना गरेको छ।

प्रकाशित मिति: : 2020-01-11 02:26:25

प्रतिकृया दिनुहोस्