अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव सिनेटमा, विहीबारदेखि प्रक्रियामा

बिएल संवाददाता

वासिङ्टन डीसी

अमरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव संसदको माथिल्लो सदन सिनेटमा पुगेको छ। संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको बहुमतले पारित गरेपछि प्रस्ताव माथिल्लो सदन सिनेटमा पुगेको हो।

प्रस्तावको पक्षमा २२८ मत खसेको थियो भने विपक्षमा १९३ मत खसेको थियो । पार्टी लाइनकै आधारमा प्रस्ताव सिनेटमा पठाउने कि नपठाउने पक्षमा सासंदहरूले मतदान गरेका थिए। 

प्रस्ताव बहुमतले सिनेटमा पठाउने निर्णय गरेपछि संसदकी सभामुख न्यान्सी पोलिसीले त्यसमाथि हस्ताक्षर गरेर प्रमाणित गरेकी थिइन् । आरोपपत्रमा हस्ताक्षर गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा सभामुख पेलोसीले आफूहरूले राष्ट्रपतिलाई कानुनमाथि नभएको सम्झाएर इतिहास रचेको बताएकी थिइन् ।

सभामुख पोलिसीले सिनेटमा प्रस्तावको व्यवस्थापन गर्न व्यवस्थापकहरूको नियुक्ति पनि गरेकी छिन् ।

प्रस्ताव बुधबार नै सिनेटमा पढेर सुनाइएको थियो । 

प्रस्ताव सुनिसकेपछि सिनेटमा सत्तापक्षका नेता मिच मक्कनेलले आरोपपत्र बिहीवार अपराह्न सार्वजनिक गरिने बताएका छन्। उनले मंगलबारदेखि प्रस्तावमाथि छफफल गराउने घोषणा पनि गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि  शक्तिको दुरुपयोग गरेको र कङ्ग्रेसको प्रक्रियामा अवरोध पुर्‍याएको आरोप लगाएर संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोग प्रस्ताव पारित गरेको छ ।

माथिल्लो सदन सिनेटले दुई तिहाइले अनुमोदन गरेमा ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव पारित हुने छ। तर, मौजुदा सिनेटमा राष्ट्रपति ट्रम्पकै रिपबेलिकन पार्टीको बहुमत भएकाले प्रस्ताव पारित हुने सम्भावना कम छ । 

प्रकाशित मिति: : 2020-01-16 15:39:46

प्रतिकृया दिनुहोस्