टर्कीमा ६.८ म्याग्निच्युडको भूकम्प, कम्तिमा १४ जनाको मृत्यु

एजेन्सी

काठमाडौं

टर्कीमा शक्तिशाली भूकम्प गएको छ। टर्कीको राजधानी अंकाराबाट ५ सय ५० किलोमिटर पूर्वमा पर्ने क्षेत्रलाई केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। स्थानीय समय अनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पका कारण कम्तिमा १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

एलाजिग् प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएको भूकम्पका कारण भवनहरु भत्किएका छन्। भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो।

अहिले उद्धार तथा राहतको काम भइरहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीले जनाएको छ। प्रभावित क्षेत्रमा ४० सयभन्दा बढी उद्धार टोली खटिएका छन्।

टर्कीमा बेलाबेलामा भूकम्प गइरहन्छ। सन् १९९९ मा गएको शक्तिशाली भूकम्पका कारण १७ हजार मानिसको ज्यान गएको थियो।
 

प्रकाशित मिति: : 2020-01-25 20:33:19

प्रतिकृया दिनुहोस्