महिला आत्मनिर्भरका लागि झम्सिखेलमा खोलिएको एउटा बजार (भिडियोसहित)

चिसो मौसम अनि हर्वल चियाको स्वादसँगै उनीहरूसँग गफिदाको आनन्द नै बेग्लै थियो। 

ललितपुरको मुटुमा रहेको झम्सिखेल केही वर्षयतादेखि नेपाली तथा विदेशी पाहुँनाका लागि जमघट गर्ने स्थलको रुपमा विकाश भइसकेको छ। त्यही झम्सिखेलको चोकैमा रहेको सरस्वति मन्दिरको आडमा ठूलो चौरी छ। जहाँ शारीरिक अभ्यासका लागि केही मेसिन राखिएको छ। बिहान र बेलुका यो ठाउँमा शारीरिक अभ्यास गर्नेको घुइँचो नै लाग्ने गर्दछ। 

गत शनिबार यही ठाउँको दृश्य अलि फरक थियो। चौरको बाहिरी गेटमा एउटा ब्यानर टाँगिएको थियो, वुमन इम्पावरमेन्ट मार्केट–२०२०।

घरतर्फ गइरहेकी म यो ब्यानर देखिएपछि झ्याप्प मोडिए। गेटभित्र प्रवेश गरको थाहा भयो, महिला अधिकारका लागि कार्यरत विभिन्न संघसंस्थाले आ–आफ्नो ब्यानर राखेर हस्तकलाका विभिन्न समाग्री प्रदर्शन गरेका रहेछन्। 

महिलामाथि हुने आन्तरिक तथा बाह्य बेचविखन, सुकुम्बासी वस्तिमा बसोवास गर्ने महिलाद्धारा संचालन गरिएको महिला एकता समाजलगायत अन्य विभिन्न संघसंस्थाले आफूले उत्पादन गरेका समाग्री बिक्रिका लागि राखेका थिए। 

म हरेक स्टल चियाउँदै हिडेँ। ती महिलाले आफ्नो उत्पादन बेच्न स्टल घुम्न आउने मानिसलाई गरेको ब्रिफिङले मलाई आनन्दित तुल्यायो। उनीहरू स्टल घुम्न आउने सबै, विशेषत महिलालाई यो आत्मविश्वास दिलाउने कोशिश गरिरहेका थिए, ‘हामी घरभित्रको काम सकेर उब्रिएको समयमा पनि केही गर्न सक्छौ।’ 

सबैले स्वागतयोग्य शैलीमा आफूले बनाएको परिकारको स्वाद लिन र समान खरिद गरेर हौसला प्रदान गर्न अनुरोध गरिरहेका थिए । सबै दिदीबहिनीसँग गफिँदै‌ं नेवारी खाजासेट खुवा अनि चाकु राखेर बनाएको यमरी र टिमुरको अचारको स्वाद लिँदाको मज्जानै बेग्लै थियो। 

यमरी र नेवारी खाजासेट खाएको केही घण्टापछि पुनः म बेकरीका परिकारदेखि फापरको चाउमिन अनि अदुवाको क्यान्डी खाँदै स्टलमा रहेका महिला दिदीबहिनीसँग कुरामा रत्तिन थाले।

चिसो मौसम अनि हर्वल चियाको स्वादसँगै उनीहरूसँग गफिदाको आनन्द नै बेग्लै थियो। 

टोखामा रहेको नमुना दिदीबहिनी समूहमा रहेर अचार बनाउने तालिम लिएर सोही व्यवसायमा लागेकी शान्ता दिदीले अचार बेचेरै महिनामा डेढ लाख कमाउँदी रहेछिन्। 

काम गर्दाको सुरुवाती दिनमा श्रीमानले के अचार बेच्दै हिड्छयौ? भने पनि अहिले भने परिवारबाट निकै सहयोग पाएको उनले बताइन्। गफै गफमा उनले भनिन्–‘अचार बेचेर पैसा मात्र हैन तपाईहरु जस्तो हजारौ दिदीबहिनीको माया तथा सद्भाव  पनि पाएको छु।’ 

त्यसैले त उनी ५२ वर्षको उमेरमा पनि २० वर्षे जोशका साथ काम गरिरहेकी छिन्। स्टल घुम्दै गर्दा छोरी लेखिएको व्यानरमा आँखा पर्यो। 

आन्तरिक तथा बाह्रय बेचबिखनमा परेका बालिका तथा किशोरीको उद्धार तथा संरक्षणको लागि छोरी संस्था क्रियाशिल रहेछ। संस्थाकी कार्यकारी निर्देशक हिरा दाहाल स्टल हेर्न आउने विदेशी र स्वदेशीलाई ‘वुमन इम्पावरमेन्ट  मार्केटको विषेशता बारे अवगत गराउँदै थिइन ।

निर्देशक दाहालले महिलाको आर्थिक शसक्तिकरणको लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। ‘यस प्रकारको स्टल एक महिना अगाडि ठमेलमा राखिएको थियो। यसले महिलाले घर भित्रै बसेर बनाएका सामानलाई बजारसँग जोड्न प्रभावकारी हुनेछ,’ उनले भनिन्। 

स्टलमा आफ्ना सामान राखेर बसेका सबै जसोले छोरी संस्थाले यसरी वुमन इम्पावरमेन्ट मार्केटको सुरुवात गरेकोमा धन्यवाद दिए। 

वुमन इम्पावरमेन्ट मार्केटले महिलाको आर्थिक शसक्तिकरण मात्र हैन मानसिक रुपमा समेत म केही गर्न सक्छु भन्ने आत्मविश्वास बढाएको जो कोहीले महसुस गर्न सक्छ। 

प्रकाशित मिति: : 2020-01-28 01:21:34

प्रतिकृया दिनुहोस्