पर्यटन बोर्डमा डा. रेग्मी नै किन?

त्यतिमात्र हैन रेग्मीले अमेरिकाको एरिजोना यूनिर्भसिटीबाट जलवायू परिवर्तनमा अनुसन्धान पनि गरेका छन् ।

सन्जोग आचार्य

न्युयाेर्क

धेरैले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा पर्यटन ब्यबसायी बच्चुनारायण श्रेष्ठ छनोट हुने अनुमान गरेका थिए। नेपाल भ्रमण बर्ष २०२० को सचिवालयका संयोजकको जम्मेवारी पाएका श्रेष्ठले बोर्डको सिइओमा पनि इच्छा देखाउँदा त्यहाँ राजनीतिक चलखेल हुने अपेक्षा गरिएको थियो। तर, नेकपा निकटस्त मानिएका श्रेष्ठ नेपाल पर्यटन बोर्डको अन्तिम तीनमा पर्न सफल भएनन्। 

पर्यटन वोर्डको सिइओ छनोट उपसमिति सचिवालयले श्रेष्ठलाई अयोग्य ठहर गरेपछि सन् २०२० भ्रमण बर्ष सचिवालयमा नै चित्त बुझाउनुको बिकल्प छैन । अब नैतिकताको आधारमा सचिवालयको संयोजक पदमा बस्न मिल्ने कि नमिल्ने त्यो त आफ्नो ठाउँमा छ तर सिइओमा असफल भएपछि उनको योग्यतामा भने अवश्य प्रश्न उठेको छ । केही समय स्थगित भएको छनोट प्रक्रियाको अन्योलताका बीच श्रेष्ठ अमेरिका भ्रमण रहेको समयमा बोर्डले भने नयाँ नेतृत्व पाएको छ।

नेपाल पर्यटन बोर्डको कर्मचारी युनियनले यसअघि बोर्ड भित्रबाट नै सिइओ छनोट हुनुपर्छ भन्ने आवाज पनि उठाउदै आएको थियो। त्यस कारण बोर्डका धेरै कर्मचारीले सिइओमा आबेदन दिए। यसअघि बोर्डका  सिनियर कर्मचारी हुदाहुदैँ पनि दीपकराज जोशी प्रमुख कार्यकारी भएका थिए। जुन कल्पना जोशी आफैले पनि गरेका थिएनन् होला। निजी क्षेत्रका ब्यबसायीको आन्दोलनको कारण जोशीले अबसर पाएपनि सही ढंगले बोर्ड चलाउन भने सकेका थिएनन्। दोस्रो कार्यकालमा फेरि जोशी आउने हल्ला भएपनि त्यो पनि गलत साबित भयो ।  यदि जोशी छनोटमा परेका भएपनि बोर्डका निर्देशक काशीराज भण्डारी, हिक्मतसिंह ऐरलगायत सँग काम गर्न त्यति सजिलो थिएन । 

अहिलेको परिस्थितिमा बोर्ड भित्रका कर्मचारी छनोट भएको खण्डमा अरु कर्मचारीको मनोबल गिर्ने अबस्था थियो । नोकरशाहीतन्त्रमा जुनियर कर्मचारी सिइओ भएमा अवश्य नै हाकिमलाई अपच्यनै हुन्थ्यो । त्यो हिसाबले पनि अहिलेको सिइओ छनोट सही हो भन्न सकिन्छ । 

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका डा‍. धनन्जय रेग्मी योग्यता र अध्ययनको हिसाबले अन्यको तुलनामा उत्कृष्ट नै थिए । जलवायू परिवर्तन र हिमतालको अध्ययनमा लामो समय बिताउदै आएका रेग्मीले सन् २००६ मा जापान सापोरामा रहेको हाकिदो यूनिभर्सिटीबाट विद्यावारिधि गरेका छन्। 

त्यतिमात्र हैन रेग्मीले अमेरिकाको एरिजोना यूनिर्भसिटीबाट जलवायू परिवर्तनमा अनुसन्धान पनि गरेका छन् । भूगोल विषयमा त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन पनि गराएका रेग्मीको छनोटले नेपालको पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ। भूकम्पपछि ओरालो लागेको नेपालको पर्यटन र भ्रमण बर्षको घोषणासँगै योग्य ब्यक्ति छनोट गर्न सफल नेपाल सरकार र छनोट उपसमितिलाई धन्यबाद दिनै पर्छ। जय पर्यटन!

 

प्रकाशित मिति: : 2020-01-31 13:13:41

प्रतिकृया दिनुहोस्