सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ।

 प्रदेशसभा सचिवालयलमा दर्ता भएको ‘एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ मा संशोधन प्रस्तावका विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको उपस्थितिमा छलफल गर्नुपर्ने देखिएकाले आजको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव मानसिंह धामीले बताए। 

नेकपाका केन्द्रीय सदस्य रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह भने सो पार्टीको बैठकमा सहभागी हुन केही दिनदेखि काठमाडौं छन्। 

प्रदेशसभामा सरकारले टेबुल गरेको एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्य भरतबहादुर खड्काले संशोधन प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए।

बिहीबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त विधेयकका सन्दर्भमा दर्ता भएको संशोधन प्रस्तावका बारेमा छलफल भएको बताइएको छ। अर्को बैठक यही माघ १९ गते दिउँसो १ बजे बस्नेछ। 

प्रकाशित मिति: : 2020-02-01 03:53:23

प्रतिकृया दिनुहोस्