स्थानीयद्वारा ईन्दुशंकर चिनी उद्योगमा तालाबन्दी

सर्लाही- ईन्दशंकर चिनी उद्योग हरिवनले प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयबासिन्दाले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा तालाबन्दी गरेका छन्। स्थानीयद्वारा गठित संघर्ष समितिको आव्हानमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उद्योगको मूलगेटसहित तीनवटा गेटमा तालाबन्दी गरिएको हो। संघर्ष समितिका संयोजक सुरेश भट्टराईले उद्योगबाट धुलो, धुवाँ र दुर्गन्ध अत्यधिक फैलिएपनि प्रदुषण नियन्त्रणको माग राख्दा व्यवस्थापन पक्षले कुनै चासो नदिएपछि बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रनु परेको बताए।

‘प्रदुषण नियन्त्रणका लागि गत आइतबार तीन दिने अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाएका थियौं, मंगलबार वार्तामा समेत बस्यौं, वार्ताका क्रममा एक वर्षभित्र प्रदुषण नियन्त्रण गर्ने प्रस्ताव आयो, अनि हामीले मान्यौ तर एक वर्षभित्र प्रदुषण नियन्त्रण नभए उद्योग बन्द गर्न तयार छौं भन्ने लिखित प्रतिबद्धता माग्दा दिईएन’, संयोजक भट्टराईले भने, ‘वर्षौंदेखि प्रदुषणविरुद्ध आन्दोलन गर्ने अनि सहमति गर्ने भईरहेको छ, यसपटक पनि उधारो सहमति गरेर हामीलाई आलटाल गर्न खोजिएकाले तालाबन्दी लगायत आन्दोलनका कार्यक्रम गर्न बाध्य भएका छौं।’

प्रकाशित मिति: : 2020-02-06 06:44:05

प्रतिकृया दिनुहोस्