दिल्लीमा केजरीवालको अग्नी–परीक्षा, २१ वर्षपछि बिजेपी सत्तामा आउन आतुर

एजेन्सी

नयाँ दिल्ली

पाँच वर्षअघि भ्रष्टाचार मुक्त भारतको उद्घोष गर्दै दिल्लीको सत्ता सम्हालेका आम आद्मी पार्टी (आप) का नेता अरबिन्द केजरीवालको भाग्यको परीक्षा शनिबार हुँदैछ। सन् २०१५ मा दिल्ली विधानसभा चुनाव जितेर मुख्यमन्त्री बनेका केजरीवालविरूद्ध यसपालि सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) बलियो उपस्थितिका साथ मैदानमा उत्रिएको छ। बिजेपी २१ वर्षदेखि दिल्लीमा आफ्नो भूमिका खोजिरहेको छ। 

पाँच वर्षअघि भारतीय कांग्रेसको डेढ दशक लामो विरासतलाई तोड्दै केजरीवाल सत्ताको शिखरमा पुगेका थिए। 

उनले तीन कार्यकाल शीला दीक्षित मुख्यमन्त्री रहेको दिल्लीमा आफ्नो झण्डा गाडेका थिए। अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनमा होम्मिएका केजरीवाल यसपालि चौतर्फी घेरिएको बताइएको छ। 

शनिबार बिहान ८ बजेदेखि ६ बजेसम्म १३ हजार ७ सय ५० केन्द्रमा निर्वाचन हुनेछ। दिल्लीमा यसपालि ६ सय ७२ उम्मेदवार उठेका छन्।

निर्वाचन आयोगले दिल्लीमा १ करोड ४७ लाख ८६ हजार ३ सय ८२ मतदाता रहेको जसमा पुरुषको संख्या ८१ लाख र महिलाको ६६ लाख भएको बताएको छ। 
यसपालिको निर्वाचनमा सय वर्षभन्दा माथि आयुका १ सय ४७ जना मतदाता रहेका छन्। ८० वर्ष माथिको आयुका २ लाख मतदाता रहेको पनि आयोगले जनाएको छ। 

प्रकाशित मिति: : 2020-02-08 12:05:29

प्रतिकृया दिनुहोस्