भुसालको चौथो कृति ‘नूतन शैली’ सार्वजनिक

परदेशी भूमिमा बसेर नेपाली स्वदेशी माटो, स्वदेशी परिवेश, संस्कृतिका लागि आफ्नो उत्कृष्ट लेखनकलामार्फत प्रवद्र्धन गर्दै आउनु भएकी गीतकार नूतन भुसालको चौथो कृति “नूतन शैली” एक समारोहकाबीच सार्वजनिक गरिएको छ।

काठमाडौंको बागबजारस्थित हेलो क्याफेमा गीतकार भूसालको जन्मदिनको अवसर पारेर “नूतन शैली” एल्बमको विमोचन गरिएको हो ।

​सो समारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले गीति लेखनमा पहिला केटाले केटीलाई सुनाउने गीत लेखिने गरिन्थ्यो भने गीतकार भुसालले भने केटीले सुनाउने र केटाले सुन्ने खालका गीतको निर्माण भएको रहेछ।

भुसालको गीतिलेखनले फरकपन दिएको बताएँदै बरालले निरन्तरतामा ध्यान दिनु भन्दै शुभकामना दिए । त्यस्तै संगीतकार सुनिल मास्केको संगीत सुनेर आफूले ढिलो भेटेको बरालले बताए ।

​समारोहका अर्का अतिथि संगीतकार राजु सिंहले शुभकामना मन्तव्य दिँदै ‘सुनिल मास्केका संगीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताएका थिए भने गीतकार भुसालको लेखनले आफू लोभिएको बताएका थिए । त्यस्तै गीतकार डा.राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्वपूर्ण भूमिका खेलेको बताए । डा.श्रेष्ठले उनको लेखनप्रति आफूलाई डाह लागेको बताउँदै गीतकार भुसाल सिद्धहस्त गीतकारका रुपमा पाएको बताए ।

​कार्यक्रमलाई स्वागत गर्दै गीतकार भुसालले प्रवासमा रह“दा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरुलाई गीतमार्फत उजागर गरेको बताएकी थिइन्। उनले नूतन शैलीमार्फत् आधुनिक संगीतमा एउटा ईँटा थप्ने काम गरेको बताइन् भने संगीतकार सुनिल मास्केको सहयोगले नूतन शैलीको निर्माण भएको बताइन् ।

​गीतकार भुसालकी आमा रामकुमारी भुसालको सभापतित्वमा शुभकामना मिडिया सोलुशनले सो समारोहको आयोजना गरेको हो । भने कार्यक्रममा गीतकार डा.राजुबाबु श्रेष्ठ, संगीतकार राजु सिंह विशेष अतिथिका रुपमा रहेका थिए ।

​कार्यक्रममा सभापतिको आसनबाट बोल्दै गीतकार भुसालकी आमा रामकुमारी भुसालले आफूले छोरीको भावना बुझेर स्टेज दिन नसकेको बताउँदै छोरीका सिर्जनाले सबैको मन जित्न सकोस् भन्ने शुभकामना दिइन्। उनले समयअनुसार काममा ध्यान दियो भने नाम आफैं कमाउने बताउँदै जन्मदिनको शुभकामना समेत दिइन् ।

​कार्यक्रममा भमराको भुनभुन सुन्छु र थाहा छैन के हुन्छ गीतको म्यूजिक भिडियो देखाइएको थियो । जसमा युवराज वाइवा र मदन खड्काको निर्देशन गरेको थियो । जसमा अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापाको अभिनय रहेको थियो ।

​कार्यक्रममा गीतकार नूतन भुसालको जन्मदिन परेकोले केक काटेर जन्मदिन मनाइएको थियो भने म्यूजिक खबरका तर्फबाट सम्पादक सविता पोखरेलले बुकी दिएर सम्झनास्वरुप मायाको चिनो दिएकी थिइन् । कार्यक्रममा एल्बमसँग सम्बन्धित स्रष्टाहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

​गीतिसंग्रह “नूतन शैली” मा गीतकार नूतन भुसालको एकल शब्द एवं संगीतकार सुनिल मास्केको एकल संगीतमा रहेको छ । एल्बममा भमराको भुनभुन, थाहा छैन के हुन्छ, देखेको छैन, कुक्क लाग्यो बाडुल्की, तिम्रो साथ भन्दा प्यारो जस्ता ५ वटा गीत समावेश गरिएको छ ।

जसमा प्रविशा अधिकारी, निशा देशार, मीना निरौला, प्रताप दास र पूर्णिमा लामाको स्वर रहेको छ । गीतमा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको संगीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

प्रकाशित मिति: : 2020-02-10 06:20:39

प्रतिकृया दिनुहोस्