ला लिगा: शीर्ष स्थानको मड्रिडकाे फराकिलो जित

शीर्ष स्थानको रियल मड्रिडले स्पेनिस ला लिगामा फराकिलो जित निकालेको छ।

ओसासुनाको मैदानमा आइतबार राति भएको खेलमा मड्रिडले ओसासुनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

मड्रिडको जितमा इस्को, सर्जियो रामोस, लुकास भास्केज र लुका जोभिकले एक/एक गोल गरे। ओसासुनाका उनाइ ग्रासियाले एक गोल गरे।

खेलको १४ औं मिनेटमा ग्रासियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, मड्रिडले स्थिति उल्टायो।

३३ औं मिनेटमा मड्रिडका इस्कोले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काए।

३८ औं मिनेटमा मड्रिडले खेलमा अग्रता। उसका लागि कप्तान रामोसले गोल गरे। पहिलो हाफमा १–२ गोल अन्तरको अग्रता बनाएको मड्रिडले दोस्रो हाफमा थप दुई गोल गर्यो।

खेलको ८४ औं मिनेटमा लुकासले गोल गर्दा मड्रिडले १–३ गोल अन्तरको फराकिलो अग्रता कायम गर्यो। खेलको इन्जुरी समयमा लुकाले गोल गर्दै मड्रिडलाई ४–१ को जित दिलाए।

जितसँगै शीर्ष स्थानको मड्रिडले लिगमा २३ खेलमा ५२ अंक जोडेको छ। उसले दोस्रो स्थानको बार्सिलोनासँग अंक दूरी ६ पुर्याएको छ। बार्सिलोनाको २२ खेलमा ४६ अंक छ।

पराजित ओसासुनाले २३ खेलमा २८ अंक जोडेको छ। ओसासुना १२ औं स्थानमा रहेको छ। 
 

प्रकाशित मिति: : 2020-02-10 11:59:12

प्रतिकृया दिनुहोस्