सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा

बिएल संवाददाता

काठमाडाै‌ं

सरस्वती युथ क्लब शहीद स्मारक ए डिभिजन लिगबाट बी डिभिजनमा घटुवा भएको छ। लिग अन्तर्गत १२ औं चरणको खेलमा च्यासल युथ क्लबसँग पराजित हुँदै सरस्वती बी डिभिजन लिगमा घटुवा भएको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा सरस्वती चयासलसँग २–१ गोल अन्तरले पराजित भएको थियो। पराजित सरस्वतीले १२ खेलमा ४ अंक जोड्यो। सरस्वतीलाई पराजित गरेसँगै च्यासल भने १५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ।
 
लिगको अन्तिम खेल जितेपनि सरस्वती एक खेल बाँकी छदै बी डिभिजनमा घटुवा भयो।

अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक १४ टोलीमा एक टोली मात्र घटुवा हुने प्रावधान बनाएको थियो। अब सरस्वतीबाहेक अन्य टोली अब घटुवा हुने छैनन्।

सरस्वती क्लब इतिहासमा दोस्रो पटक घटुवा भएको हो। बि.स २०६३ सालमा पहिलो पटक ए डिभिजन लिग खेलेको सरस्वती सोही वर्ष बी डिभिजनमा घटुवा भएको थियो। 

च्यासललाई जित दिलाउन जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एक एक गोल गरे। सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। खेलको ६६ औं मिनेटमा वाकिनोले गोल गर्दै च्यासललाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सरस्वतीका बुसारीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन्।

अब सरस्वतीले लिगको अन्तिम खेलमा संकटा क्लबसँग खेल्नेछ। 

प्रकाशित मिति: : 2020-02-11 04:02:28

प्रतिकृया दिनुहोस्