तेस्रो पटक प्रदेशसभा अवरोधः विधेयक पेश हुन पाएन

प्रमखु प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ।

 झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै कांग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारवाही अगाडि बढ्न सकेन।

ललिता निवास जग्गा प्रकरणमा प्रतिनिधिसभा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा कांग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो। 

सभामुख प्रदीपकुमार भण्डारीले सभाको कामकारवाहीलाई चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सदस्यले उभिएर विरोध जनाएका थिए। सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय अदालतमा गइसकेकाले प्रदेशसभाबाट निरुपण नहुने स्पष्ट पार्दै सभाको सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराएका थिए। प्रदेशसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ। 

अवरोधका कारण उद्योग, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेशसभा पेश गर्न पाएनन्।

प्रकाशित मिति: : 2020-02-11 07:28:38

प्रतिकृया दिनुहोस्