त्रिभुवन आर्मी कल्ब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार बिहान भएको खेलमा ब्रिगेड क्लबलाई ३–० ले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई नवौं जित दिलाउन कप्तान भरत खवास, विकास खवास र टेक बहादुर बुढाथोकीले १–१ गोल गरे।
खेलको पाँचौं मिनेटमै जर्ज प्रिन्स कार्कीको क्रसमा कप्तान भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा दुई गोल थप्यो।
५४औं मिनेटमा विकासले सन्तोष तामाङको पासमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे। ७० औं मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीको अग्रता तेब्बर पारे।
जितसँग १२ खेलबाट २९ अंकसहित आर्मी शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट २८ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ। ए डिभिजन लिग २०७६ को उपाधि जित्न आर्मीलाई अब १ अंक मात्र आवश्यक छ।
१४ क्लब सहभागी लिगको फाइनलमा अब यी दुई क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल फागुन ३ गते शनिबार दशरथ रंगशालमा हुनेछ। त्यस खेलमा बराबरी नतिजाले मात्र पनि आर्मी च्याम्पियन बन्नेछ भने मछिन्द्रले जित नै निकाल्नुपर्नेछ।
भरतले पूरा गरे ५० गोल
यस्तै, कप्तान भरत खवास ए डिभिजन लिगमा ५० गोल पूरा गर्ने सातौँ खेलाडी बनेका छन्। एन्फा तेस्रो ब्याचका उत्पादन भरतले यसअघि संकटा क्लब फ्रेण्ड्स क्लब र नेपाल पुलिसबाट पनि लिग खेलेका थिए।
यसअघि बसन्त थापा रमेश बुढाथोकी जिवेश पाण्डे सुरेन्द्र तामाङ गणेश लावती र सन्तोष तामाङले लिगमा ५० गोल पूरा गरेका थिए। सन्तोष साहुखलले यसै सिजन लिगमा १०० गोल पूरा गरेका छन्। उनले च्यासलबाट लिग खेलिरहेका छन्।