प्रहरीको आईजीपी छान्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने

नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

नियमित रूपमा सोमबार दिउँसो बसेको बैठकले आईजीपी छान्न नसकेपछि आज २ बजे फेरि मन्त्रिपरिषद् बैठक बस्ने स्रोतले बतायो। 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आज सकिँदैछ।

अहिले आइजीपीको दौडमा नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल छन्।

हालका आईजीपी सर्वेन्द्र खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवा अवधिका कारण २९ माघमा अवकाश पाउँदैछन्।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाउनेछन्।

त्यसैले यो दौडमा ज्ञवाली र लम्साल मात्रै बाँकी रहेका हुन्। उनीहरुबाट चुनिनेले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ।

यदी सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिनेछ भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्नेछन्।

यद्यपि, सेवाअवधि नहट्ने संकेत प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले वैकल्पिक टोलीबाट नियुक्त हुने नयाँ आईजीपीको स्वागतको तयारी थालेको छ।

प्रकाशित मिति: : 2020-02-12 02:52:14

प्रतिकृया दिनुहोस्