जावलाखेल र हिमालयन शेर्पाले अंक बाँडे

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार जावलाखेल र शेर्पाले ३-३ गोलको रोमान्चक बराबरी खेलेका हुन्।

जावलाखेलका लागि कुबेर बिष्ट, फोडे फोफाना र रुप बहादुर लामाले एक एक गोल गरे। शेर्पाका स्टेफेन समिरले दुई गोल गर्दा विजय श्रेष्ठले एक गोल गरे।

खेलमा सुरुवाती अग्रता भने शेर्पाका स्टेफेनले गोल  अग्रता दिलाए। २६ औं मिनेटमा विजयले गोल गर्दै शेर्पालाई २-० को अग्रता दिलाए।

खेलको ३५ औं मिनेटमा जावलाखेल १० खेलाडीमा सिमित भयो। जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको थियो।

जावलाखेलका कुबेरले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेल २-१ मा ल्याए। त्यसको केहि मिनेटपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई ३-१ को अग्रता दिलाए।

दोस्रो हाफमा भने जावलाखेलले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ६० औं मिनेटमा फोफानाले हेड गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए।

खेलको ६८ औं मिनेटमा शेर्पा पनि १० खेलाडीमा समेटियो। निरज बस्नेत जावलाखेलका कुबेरलाई ट्याकल गरेपछि दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। 

७० औं मिनेटमा पाएको फ्रिकिकमा रुप बहादुरले उत्कृष्ट गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याउदै जावलाखेलको हार टारेका थिए।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ । जावलाखेल लिगको पाँचौं स्थानमा रहेको छ । १२ खेलमा ११ जोडेको शेर्पा ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2020-02-13 07:06:52

प्रतिकृया दिनुहोस्