विभागीय टिम नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा सहज जित निकालेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो। पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे।
खेलको ४९ औं मिनेटमा जुमानुले गोल गर्दै पुलिसलाई अग्रता दिलाए।जुमानुले खेलको ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाए। त्यसपछि खेलको ८५ औं मिनेटमा जुमानुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा पुलिसले ३–० को सहज जित निकाल्यो।
जितसँगै पुलिसले लिगको शीर्ष ६ पक्का गरेको छ। लिगमा शीर्ष ६ पक्का गरेसँगै पुलिसले अब राष्ट्रिय लिग खेल्ने भएको छ।
पुलिस १३ खेलमा २० अंक जोड्दै पाँचौं स्थानमा रहेको छ। फ्रेन्ड्स भने १३ खेलमा १४ अंक जोडेर दशौँ स्थानमा रह्यो।