थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो।
थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मव्राले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो।
खेलको ७० औं मिनेटमा लाल राम्मव्राले हेड गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले निशान खड्काको फ्रिकिक बललाई हेडबाट पोस्टको दिशा देखाएका थिए।
त्यसपछि खेलको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए।
जितसँगै थ्री स्टारले लिगको तेस्रो स्थानमा उक्लिएको छ। थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ।
च्यासलले भने हारबाट सिजनको अन्त्य गरेको छ। च्यासलले १३ खेलमा १५ अंक जोडेको छ। च्यासल आठौं स्थानमा रहेको छ।