चीनबाट १ सय ८५ जनालाई शनिबार राति नेपाल ल्याइने

दीप सुवेदी

काठमाडाैं

चीनबाट फर्कन आवेदन दिएका  १ सय ८५ जना नेपाली नागरिकलाई शनिबार राति नेपाल ल्याइने भएको छ।

उद्धारका लागि शनिबार दिउँसो नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट उड्दैछ। शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाड उडेको विमान राति ९ बजे(चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ। त्यसका लागि चार जना सरुवा रोग विशेषज्ञ चिकित्सक समेत जाने सरकारले जनाएको छ। फर्कनेहरु सबैको चीनमै स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको पुष्टि भएपछि मात्र नेपाल ल्याइनेछ।

स्वास्थ्य परीक्षणका लागि उनीहरुलाई ४ घण्टा अघि नै चीनको विमानस्थलमा पुर्‍याइने नेपाली दूतावासले जानकारी दिएको छ। कोरोनाको लक्षण देखिए उपचारका लागि चीनकै अस्पताल पठाइने छ।

विमान आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्नेछ। त्रिभुवन विमानस्थल आइपुगेपछि पनि फेरि स्वास्थ्य परीक्षण गरिने भएकाले कोरोना संक्रमित ल्याउन लागेको भन्ने हल्लाको पछि नलाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

परीक्षणमा कोरोनाको लक्षण देखिए टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लैजाने तयारी गरिएको छ। स्वस्थय व्यक्तिलाई भक्तपुरको खरीपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने छ भने उनीहरुलाई लिन गएको विमानका चालक लगायतलाई नगरकोटको खानेपानीको कार्यालयमा निगरानीमा राखिनेछ।

उनीहरुलाई २ हप्तासम्म आफन्तसँग पनि भेट्न दिइने छैन भने चौबिसै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा राखिनेछ। उनीहरुलाई त्यहाँ राख्दा कोरोनाको लक्षण देखिए तत्काल अस्पताल लगेर आइसोलेसनमा राख्ने तयारी छ। कोरोना नभएको पुष्टि भएपछि उनीहरुलाई अभिभावकको जिम्मा लगाइनेछ।

प्रकाशित मिति: : 2020-02-15 22:10:51

प्रतिकृया दिनुहोस्