‘कैद जरिवाना’ असुल न्यून

रासस

बनेपा

प्रहरीले फरार अपराधी पक्रन सक्रियता देखाए पनि असुल्न बाँकी कैद र जरिवाना अत्यधिक रहेको जिल्ला अदालतको तथ्यांक छ। 

जिल्ला अदालत काभ्रेपलाञ्चोकका अनुसार, २०७६ माघ मसान्तसम्ममा कैदतर्फ एक हजार १५३ वर्ष २८ दिन लगतमा जम्मा २१२ वर्ष पाँच महिना दुई दिनको फछ्र्योट भएको र ९४० वर्ष सात महिना २६ दिन बाँकी रहेको छ।

 उक्त अवधिमा जरिवानाको लगत रु ७१ करोड ७६ लाख ३७ हजार ८१४ मध्ये जम्मा रु दुई करोड ४० लाख १३ कजार ८१५ अर्थात तीन दशमलव ३४ प्रतिशत मात्रै फछ्र्योट भएको छ। रु ६९ करोड ३६ लाख २३ हजार ९९९ बाँकी रहेको अदालतका कर्मचारी टेकबहादुर श्रेष्ठले बताए।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको विवरणअनुसार २०७६ माघ मसान्तसम्ममा ९०० लगत सङ्ख्या रहेकामध्ये १९ प्रतिशत र जरिवानाको जम्मा तीन प्रतिशत मात्रै फछ्र्योट भएको छ। 

स्रोत, साधन र बजेटको अभावका कारण फरार व्यक्तिलाई पक्राउ गर्न नसकेको श्रेष्ठले बताए। ती विवरण जिल्लाको सम्बन्धित गाउँ/नगरपालिकामा समेत पठाएर सहयोगका लागि आग्रह गरिरहेको उनले बताए।

यसैबीच काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार ठाकुर त्रितालका अनुसार माघ मसान्तसम्ममा अघिल्लो वर्षबाट जिम्मेवारी सरेको लगतमध्ये ८७४ र नयाँ ७३३ गरी एक हजार ६०७ मा ७२४ (४५ प्रतिशत) मुद्दाको फछ्र्योट भएको र ८८३  बाँकी रहेको छ। 

जसमा जिम्मेवारी सरेको मुद्दा ४५७ र नयाँ दर्ता भएको २६७ गरी ७२४ मुद्दा फछ्र्योट भएको बताए। वर्षको ६५ प्रतिशत मुद्दा फछ्र्योट गरिसक्नुपर्नेमा माघ मसान्तसम्ममा ४५ प्रतिशत फछ्र्योट हुनु सन्तोषजनक रहेको उनले बताए। 

त्यस्तै निरन्तर सुनुवाइ हुने मुद्दामा ११६ मा ४६ वटा फछ्र्योट भएको, बाल इजलासमा सुनुवाइ हेर्ने मुद्दामा पाँच वटामा दुई वटा फछ्र्योट भएको र थुनुवा मुद्दामा १२० वटामध्ये ६२ वटा फछ्र्योट भएको जनाएको छ।

प्रगति प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालले आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी सम्बन्धबिच्छेदका २०० मुद्दा दर्ता भएको बताए। 

सो क्रममा उनले अब कुन मुद्दामा कति शुल्क लाग्छ र कति समयमा फछ्र्योट हुन्छ भनेर दर्ता भएको दिनमा नै जानकारी दिने व्यवस्था गरेको बताए।

प्रकाशित मिति: : 2020-02-16 02:43:10

प्रतिकृया दिनुहोस्