मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ।
३३औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो। बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो। खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो।
यसअघि नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए। १३औं मिनेटमा कप्तान भरत खवासको कर्नरमा बिकास खवासको हेडर बाहिरियो। २०औं मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो। २२औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो।
शनिबारको खेलमा आर्मीले उपाधि जित्न बराबरी मात्र गरे पुग्नेछ भने मछिन्द्रले जित्नैपर्ने दबाव छ। १२ खेलको समाप्तीमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ। १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछी छ। गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो।