सगरमाथा र 'शेर्पा' ले नेपाललाई विश्वमा चिनाएका छन् : सभापति देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सगरमाथा र शेर्पा जातिले नेपाललाई विश्वमा चिनाएको बताएका छन् ।

नेपाल लोकतान्त्रिक शेर्पा सङ्घले २१४७औँ ग्याल्बो ल्होसारका अवसरमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले शेर्पा समुदायकै कारण नेपाल विश्वमा चिनिएकाले हीन भावना नराख्न शेर्पा समुदायलाई आग्रह गरे।   

‘सगरमाथा र शेर्पा दुवै नेपालका गर्व हुन्, यसबाट नेपालको संस्कृति विश्वमा चिनिएको छ, शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्बो ल्होसारमा दिँदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले कटाएको छ,  कांग्रेस नेतृत्वमा सरकार बनेपछि बिदा पुनर्स्थापना हुन्छ’, सभापति देउवाले भने ।

तेञ्जिङ नोर्गे शेर्पालाई पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेकै कारण विश्वमा धेरैले चिन्ने गरेकाले त्यसप्रति गर्व गर्न पनि उहाँले आग्रह गरे।

सांसद जीपछिरिङ लामाले सरकारले आमसञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था गरिरहेको बताउँदै केही सञ्चारमाध्यम भने सरकारका गलत क्रियाकलापको पनि संरक्षण गरेर प्रमुख प्रतिपक्षीको समाचार सम्प्रेषण नगर्ने गरेको बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत भूकम्पपछि भत्किएका गुम्बा पुनर्निर्माणमा भेदभाव गरेको सांसद लामाको आरोप थियो ।   

वाग्मती प्रदेशसभा सदस्य निमा लामाले कांग्रेस नेतृत्वको सरकारकै पालामा जनजातिलाई सूचीकृत गरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको गठन भएको स्मरण गराउँदै वर्तमान सरकारले भने ग्याल्बो ल्होसारका अवसरमा एक दिन दिइएको सार्वजनिक बिदासमेत कटौती गरेर भेदभावपूर्ण व्यवहार गरेको बताए।
 

प्रकाशित मिति: : 2020-02-16 21:22:09

प्रतिकृया दिनुहोस्