परराष्ट्रमन्त्री ज्ञवाली ढाकातर्फ प्रस्थान

बिएल संवाददाता

काठमाडाै‌ं

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बंगलादेशको तीनदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान ढाकातर्फ प्रस्थान गरेका छन्।

विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा बंगलादेश प्रस्थान गरेका मन्त्री ज्ञवालीको नेतृत्वमा दुई देशबीच मंगलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको उनले बताए।

दुई देशबीचको सम्बन्धलाई आर्थिक समृद्धिका लागि रुपान्तरणको प्रयास गरिने बताउँदै मन्त्री ज्ञवालीले क्षेत्रीय, अन्तर्राष्ट्रिय र बहुपक्षीय मञ्चहरुमा दुवै देशबीच साझेदारी बढाउने र अन्य साझा चासोका मामिलामा सक्रिय रुपमा सहकार्य गर्ने प्रयास आफूबाट हुने उनले बताए।

बंगलादेश अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल–बंगलादेश सम्बन्ध र दक्षिण एसियाली सहयोग’ विषयमा उनले प्रवचन दिनेछन्।

मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल सहभागी छन्।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ।

प्रकाशित मिति: : 2020-02-18 01:28:26

प्रतिकृया दिनुहोस्