अनेरास्ववियुका विद्यार्थीद्वारा चितवन पार्टी कार्यालय तोडफोड

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन्। 

क्रान्तकारीका विद्यार्थीहरुले केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन्।

तोडफोडबाट अनेरास्ववियुका  पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्षमा क्षति पुगेको छ। अहिले पार्टी कार्यालयमा शशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ।


के हो विवाद?

जनयुद्ध दिवसका सन्र्दभमा पूर्व एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र पूर्व एमाओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीबीच भएको विवादले झडपको रुप लिएको हो।

गत फागुन २ गते पूर्व एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आक्रमण गरी घाइते बनाएका थिए। उनीहरुको आक्रमणबाट अनेरास्ववियुका सागर काफ्ले, विक्रम केसी, आशिष कार्की, केशवराज काफ्ले लगायतका घाइते भए।

सोही दिन साँझ अनेरास्ववियुका विद्यार्थीहरुले अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीमाथि आक्रमण गरे। उनीहरुको आक्रमणबाट क्रान्तकारीका विश्वास अम्गाई, अनिश शाक्य र दिनेश पौडेल घाइते भए। घाइते विद्यार्थीहरु चितवन मेडिकल कलेजमा उपचार पछि घर फर्किएका छन्। उनीहरुलाई अनेरास्ववियुका विद्यार्थीहरुले रडले आक्रमण गरेका थिए।

अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सोमबार अनेरास्ववियुका केन्द्रीय सदस्य देव पाठकलाई टाउकोमा रडले हानेर घाइते बनाएका छन्। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ। 

नेकपा चितवनका कार्यालय सदस्य आरसी अधिकारीले विवाद समाधानका लागि पार्टीले पहल गरिरहेको बताए। तत्कालका लागि समस्याको निकास निकालेर दीर्घकालिन रुपमा समस्याको हल गरिने उनले बताए। तल्लो तहसम्म पार्टी एकता नभएका कारण दुई पार्टीका बीचमा समस्या उत्पन्ने हुँदै आएको उनको धारणा छ।

रामपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जुनसुकै बेला पनि घटना हुने सक्ने देखिएकोले सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-02-18 03:21:32

प्रतिकृया दिनुहोस्