महराले पाए सफाइ

यौन दुव्र्यवहारसम्बन्धी अभियाेग लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन्।

आइतबार महराको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो। मुद्दाको सुनुवाइ हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले आज फैसला सुनाइको हो। अदालतको यो फैसलापछि पुर्पक्षका लागि थुनामा रहेका महरा आजै छुट्ने भएका छन्।

महराको पक्षमा ३७ जना बरिष्ठ अधिवक्ताले वकालत गरेका थिए। महराको पक्षबाट भिमार्जुन आचार्य, शेरवहादुर केसी, पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतका चर्चित अधिवक्ताले समेत बहस गरेका थिए।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो।

यसपछि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले ५ मंसिरमा सदर गरेको थियो। तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो।

असोज १२ गते राति महराले संसद सचिवालयकै कर्मचारीलाई रक्सी खाए बलात्कार प्रयास गरेको आरोप लागेको थियो।  ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।

त्यसरी हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। महराले आफूलाई बलात्कार गर्न खोजेको, नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामू कागज गरिदिएकी छन्।

त्यस्तै, पत्रकार अजयबाबु सिवाकोटीले गरेको कागज महराविरूद्धको अर्को प्रमाण हो। उनले रोशनीसँग लिएको भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल,रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा मिसिल संलग्न गरेको थियो।

यी सबै तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको थियो। पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर गरेको थियो।
 

प्रकाशित मिति: : 2020-02-18 03:32:24

प्रतिकृया दिनुहोस्