उपराष्ट्रपति पुनद्वारा भेरी बबई आयोजनाको निरीक्षण

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थलको निरिक्षण गरेका छन्। उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि यहाँ आएका उपराष्ट्रपति पुनले मंगलबार साँझ भेरी नदिको चिप्लेमा निर्माण हुन लागेको व्यारेजको निरीक्षण गरेका हुन्।

चिप्लेबाट बबई नदिसम्म १२ किलोमिटर लामो सुरुङमार्फत भेरीको पानी बबईमा पुर्‍याइदैछ। आयोजनाको सुरूङ निर्माण सम्पन्न भइसकेको छ। सुरुङमार्फत भेरीको पानी बबईमा पुर्‍याएर ४६ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने र सो पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ।

उपराष्ट्रपतिको निरीक्षणको क्रममा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्देशक सञ्जीब बरालले आयोजनाको काम तीब्रगतिमा अघि बढिरहेको जानकारी गराए। उनले आर्थिक वर्ष २०६९/८० सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको बताए।

उपराष्ट्रपति पुनले राष्ट्रिय गौरवको भेरी बबई आयोजनालाई नमूना आयोजनाको रुपमा विकास गर्न ध्यान दिनुपर्ने बताए। उनले आयोजनाको सुरूङ निर्माण सम्पन्न लगायतका प्रगतिमा खुसी व्यक्त गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न सबैले इमान्दार भूमिका खेल्नुपर्ने बताए।

प्रकाशित मिति: : 2020-02-20 02:19:51

प्रतिकृया दिनुहोस्