खस साम्राज्य भन्दा अगाडी के थियो?

भर्खरै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको ‘कर्णालीका शिल्पी/दलित समुदायको सामाजिक सांस्कृतिक सम्पदा (स्थित विश्लेषण)’ पुस्तक पढेपछि समीक्षा लेख्ने हुटहुटी जाग्याे। यो एक अध्ययन हो। यसका अध्येता डिवी नेपाली हुन भने सम्पादक डा. मानबहादुर बिके। 

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ४० मा ‘दलितको हक’ उल्लेख छ। तर दलित भनेको को हो? यसको व्यापक परिभाषा हालसम्म आएको छैन। तथापि कामी, दमाई, सार्की, बादी, गन्धर्व, मुसहर, चमार, हरिजन आदि कथित तल्लो जातलाई दलित भनिएको छ।

दलितको शाब्दिक अर्थ दबाइएको, हेपिएको, पछि पारिएको आदि हो। यदि कोही बाहुन वा क्षेत्री हेपिएको छ भने पनि ऊ दलित हो। तर यो मान्न कोही तयार छैन। त्यसैले दलित भनेका डुम हुन्। डुम माने तल्लो जात। तल्लो जात माने पानी नचल्ने। अर्थात डुमको पर्यायवाची शब्द हो दलित।

यसरी देशको संविधानमा विना परिभाषाको शब्द दलित रहनु घुमाइफिराई एउटा सिंगो समुदायलाई डुम भनिरहनु हो। जति डुम भनिनुमा चित्त दुखाइ छ, त्यतिनै दलित भनिनुमा पनि। अध्येता यो शब्दलाई फेर्न चाहन्छन्। त्यसैले उनी यसको विकल्पमा शिल्पी शब्द प्रयोग गर्न चाहन्छन् तर निर्भीकताका साथ डटेर फेर्न लागेको देखिदैन। त्यसैले शिल्पी र दलित शब्दको प्रयोग गरिरहेका छन्। सत्ताले सबैभन्दा बढी दमन गरेको कुनै सुमदाय छ भने त्यो वर्तमान सत्ताले ट्याग लगाइदिएको कथित दलित वा डुम नै हो। 

विभिन्न तथ्य, ऐतिहासिक अध्ययन र घटनाक्रमले कथित दलित समुदाय भौतिकशास्त्री हुन्। पृथ्वी प्रकृतिले सृजना गरेको हरेक प्राणिको लागि अनुकुल र सुन्दर ग्रह हो। यति हुँदा पनि यो पूर्ण छैन। यसलाई पूर्ण बनाउन ललितकलाको माध्यमबाट आदिम युगदेखि सौन्दर्यको सृष्टि हुँदै आएको छ। वास्तवमा विश्वमा ललितकलाका आविष्कारक, सृजनाकार, शिल्पकार हालसम्म दवाइएका नै हुन्।

याे पनि: यस्तै हुन्छ आजकल

प्रकृतिले उपहार स्वरुप सृजना गरेका वस्तुलाई ज्ञान सीपको मिश्रणद्वारा सौन्दर्य थपेर सुन्दर बनाउनु  ललितकला (शिल्पशास्त्र) को मुख्य कार्य हो। जसको विकास र विस्तार अस्तित्वमा रहेका तथाकथित  शाषक र तिनका आसेपासेको रत्तिभर योगदान छैन। त्यसैले यसमा एकल अग्राधिकार प्राप्त समुदाय दलित भनिने श्रमजिवी बाहेक अरु हुन सक्दैन। 
 
तर पनि हालसम्मका कतिपय अध्येता तथा लेखकले यो समुदायको योगदानबारे चर्चा गर्न र उसको गर्विलो इतिहास वर्णन गर्नमा कन्जुस्याइँ गरेका छन्। त्यसै मध्येका एक हुन मानवशास्त्री डोर बहादुर विष्ट। उनले ‘सबै जातको फूलबारी: २००२०’ मा कर्णाली प्रदेशको मानवशास्त्रीय तथा समाजशास्त्रीय दृष्टिकोणबाट व्याख्या गरे पनि दलितलाई छुट्टै जातीय पहिचानको स्थान दिन आनाकानी गरेका छन्।

किन कथित दलित अपमानित भए? हालसम्म सत्ताले दबाइ राख्नुको कारण के हो? किन फराकिलो सोच हुनुपर्ने समाजशास्त्री, मानवशास्त्रीहरु नै यो समुदाय प्रति पूर्वाग्रही छन्? यी सजिलै उत्तर पाइने प्रश्न होइनन्। दमनको कर्णाली नदी झैं लामो चक्रपनि चल्छ र ? युद्धमा हारेको शक्तिलाई समेत लामो समयसम्म दमन सम्भव हुँदैन भने कथित दलितमाथि यति लामो दमन कसरी सम्भव हुन गयो? किनकि हालसम्मको इतिहास जित्ने घोडाको लगाम हो। यसैको आधारमा शासकीय मानसिकताको निर्माण भइरहेको छ। तर अब इतिहास कम्युनिस्ट घोषणापत्रको पहिलो वाक्यले भनेजस्तै हुनुपर्छ, ‘आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास रहिआएको छ।’

याे पनि: साथीको साथ अनि सम्झना

वास्तवमा अनादिकाल देखि सुदूरपश्चिम र कर्णालीमा बसेर सभ्यताको विकास गर्दै जीवन चलाइरहेका दलितलाई खसआर्यको ठूलो समूहको प्रवेश पछि आफ्नो थात्थलो, राजकाज, संस्कृति र अनादिकालीन कर्णाली शिल्पसभ्यताबाट विस्थापित बनाइयो। यो तर्क र तथ्यलाई सत्ताले सितिमिति पत्याउने वाला छैन। तर यो तथ्य लुकाउन खोज्नु सूर्यलाई हत्केलाले छेक्नु सरह हो। 
 
कर्णाली र सुदरपश्चिममा शिल्पी समुदायको जातीय नाममा गढी, किल्ला नामकरण हुनु, यस क्षेत्रमा ठूला र चर्चित देविदेवतामा दलितको प्रतिबिम्ब देखिनु एक गतिलो प्रमाण हो। साथै कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा दलितको जनसंख्या बढी हुनु तथा ऐतिहासिक दस्तावेज उपलब्ध हुनुले खस सभ्यताभन्दा अगाडि कथित उनीहरुको बसोबास रहेको प्रमाणलाई थप मजबुत बनाउन बल पुगेको देखिन्छ।  

याे पनि: दलित भएकै कारण सुन चोरीको आरोप भोगेकी सपना (भिडियो)

११ औं शताब्दी तिर नाग राजले सिंजालाई केन्द्र बनाएर शक्तिशाली खस साम्राज्य स्थापना गरे। हालसम्मको भएका व्यवस्थित अध्ययनले बताएको यही हो। तर खस साम्राज्य भन्दा अगाडि को थियोर? के भइरहेको थियोर? अभिलेख केही पाइदैन। यसैबीच भाषाविद् बालकृष्ण पोखरेलले १०३८ को सबैभन्दा पहिलो शिलालेख रहेको पत्ता लगाएका थिए। त्यसले लिपिको विकास भइसकेको देखिन्छ। तर लिपिको विकास छोटो समयावधिमा सम्भव छैन। यो अवधि अझ पुरानो हुनुपर्छ।

त्यसैले प्रा. डा. सुरेन्द्र केसीले खसहरुको नेपाल आगमन पाँचौ र छैटौं शताब्दीलाई मान्नु स्वाभाविक हुन जान्छ। साथै दमाई र गन्दर्भको आफ्नै मातृभाषा दमु र लिपि पंगु थियो। (पृष्ठ ९) यसरी आफ्नो लिपि र भाषा छोडेर अरुको भाषा र लिपि अपनाउन पनि छोटो समयावधिमा असम्भव नै हुन्छ।

त्यस्तै कलौतिया लिपिको प्रयोग गर्ने दरद र दमुहरु अर्थात दमाई जातिको भाषा र लिपि हालसम्म पनि पाइन्छ। (पृष्ठ ५०) यसरी पुस्तकमा अध्ययता एक कदम अगाडि बढेका छन्। भलै प्रमाण पर्याप्त नहोलान। तर थप अध्ययन अनुसन्धान गरी सत्य पत्ता लगाउन उत्प्रेरित गर्नलाई पुस्तक दुई कदम अघि बढेको  छ। 

याे पनि: टेम्पो चालिका भन्छिन्– ट्राफिकबाट मिठाे बाेली कहिल्यै सुन्न पाइनँ (भिडियाे) 

यसलाई थप बल पुगाउन कर्णाली नामाकरणबारे बुझ्दा उपयुक्त हुनेछ। कर्णाली ‘कर्णाल’ (करणाल) भनेको कर्णाली अञ्चलको एक किसिमको घुँगुरिएको बाजा हो। यसलाई जोडले फुकेर बजाइन्छ। यसको धुन निकै तेज हुन्छ। पहाड पहरा नै थर्किने गरी बज्छ। डाँडाकाँडा छिचोल्ने कर्णाली नदी पनि उसैगरी सुसाउने हुनाले यसको नाम नि उही राखियो। करणाल पछि कर्नाली हुँदै कर्णाली भयो। (हेर्नुस् कर्णाली लोक संस्कृति, इतिहास, सत्यमोहन जोशी, पृष्ठ ३)

नगरा बजाउनेलाई नगार्ची, कर्नाल बजाउनेलाई कर्नाल्ची भनिन्छ। कर्नाल प्राचीन सुषिरवाद्य मध्येको एक बाजा हो। यसको प्राचीन नाम कर्न थियो। पछि यसलाई कर्नाल भन्न थालियो। यसको आवाज र स्वरुप नदीसँग मिल्दो भएपछि नदीको नाम नै कर्नाली भयो। कर्णाली प्रदेशको नामाकरणसँग यहाँ डुम अथवा अनार्य शिल्पी समुदाया वा धर्मशास्त्र अनुसार शुद्र, खसहरु भन्दा पहिलेका हुन्।

००००

हाल कर्णाली क्षेत्रमा पुजिने सबै देवी देउता दलितका पिता पुर्खाका देउता हुन्। पछि शाषक वर्गले कुनै न कुनै बहानामा एकपछि अर्को गर्दै हडपेको देखिन्छ। (पृष्ठ ५२) यदि त्यसबेलाका शाषकले यी देवीदेउता नअपनाएका भए प्रतिरोध आन्दोलन हुने सम्भावना उत्तिकै रहन्थ्यो। तर केही लेखक तथा अध्यताले देवीदेउता दलितकाे नभएको पनि भनेका छन्। कर्णाली लोक संस्कृति जन जीवनमा दियार गाउँका ठकुरीको धार्मिक परम्परा वर्णन गर्ने क्रममा ग्राम नारायण देखि मष्टा, नव दुर्गा भवानी, पित्त मैयाँ सबै देउताबारे उल्लेख गरेका छन्।

याे पनि: ठेकेदारको चँगुलमा नेपालका रोहिंग्या शरणार्थी, ‘काम लगाउँछन्, पैसा दिँदैनन्’ (भिडियाे)

तर उल्लिखित सबै देउता वा शक्तिहरु गाउँका चोखा (कथित माथिल्लो जात) जातसँग मात्र सम्बन्धित हुन्। यी देउताले आशिर्वाद दिँदा चोखा जातले मात्र दिने गर्दछन् र यिनीहरुको पुज्ने काममा पनि चोखाले मात्र आपसमा सहयोग गर्दछन्। बाँटपाललाई भने कामीले पुज्ने देउता भनि उल्लेख गरेका छन्। (कर्णाली लोक संस्कृति जनजीवन, देयार गाउँका ठकुरी पृष्ठ ९१)

अध्येताले  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशिसँगको संवादलाई यसरी प्रस्तुत गरेका छन्, ‘अहिले पनि त्यो दमाईमा, कामीमा, सुनारमा धामी (देवता) चढ्यो भने त बाहुनले ढोगी हाल्छ नि। गोसाईं महाराज।।।।गोसाइँ महाराज।।।।।भन्दै १ अँ।।।अँ।।अँ।।।हुँ।।। हुँ।।।हुँ।।।भन्दै धामी काम्न थाल्छ। ल।ल।ल।।। देउता चढ्यो, देउता र मष्टो प्रकट भयो भन्ने वित्तिकै ऊ (काम्ने मान्छे) चाहिँ आफ्नो आसनमा बसिहाल्छ। सबैको आ–आफ्नो बस्ने आसन हुन्छ। देउता चढ्यो।। देउता चढ्यो।।। धामी चढ्यो भन्ने वित्तिकै सारा मान्छे आएर हात जोडेर गोसाइँ महाराज।।।। गोसाइँ महाराज।।।।। भन्छन्।’ (पृष्ठ ९) 

याे पनि: के दृष्टिबिहीनको मुटु हुँदैन? 

देउता दलितकै हुन भन्ने अस्तित्वमा रहेको प्रमाण भनेको मोफ्ला गाउँको महादेउताको पुजाइ हो। जहाँ सार्की जातिको धामी हुन्छ भने पाली (देउता मान्नेहरु) त्यहाँका क्षेत्रीहरु पनि छन्। यसले सुरुको प्रकृति पुजाका समुदाय दलित नै भएको पुष्टि हुन जान्छ। यसैगरी अर्को महत्त्वपूर्ण तथ्य भनेको यश क्षेत्रमा पुजिने देवीदेउताले कुनैपनि खालको छुवाछूत नगर्नु हो।

००००

यति हुँदा पनि केही तथ्यमा आलोचनात्मक चिन्तन जरुरी छ। अध्येताले ऐतिहासिक डुमकोट दरबारमा सार्कीले राजकाज चलाएको उल्लेख गरेका छन्। जसको बारेमा थप जानकारी लिन लेखकले सुर्खेतको भेरी गंगा नगरपालिका ५,६,७ का स्थानीयसँग सोधपुछ गर्दा वि.सं. १३८४ देखि १८०० सम्मको आसपासमा डुमकोट राज्यको अस्तित्व रहेको अनुमान गरिएको छ।

यो तथ्यलाई पुष्टि गर्ने आधार दिइए पनि विश्वास गर्न सकिने अवस्था छैन। अध्यताले खसले कर्णाली प्रवेश गरेपछि रैथानेमाथि ठूलो दमन चक्र चलाएको तथ्य प्रस्तुत गरेका छन्। यस्तो अवस्थामा डुमकोट राज्यको अस्तित्व कसरी रहन गयो? सोचनीय र गम्भीर विषय हो। यसैपनि राज्यको नामकरण डुमकोट रहनु कुनै गौरवको विषय नभएर हेपाह प्रवृत्ति थियो।

याे पनि: के तमीसँग कर्णालीको नक्सा छ ?

मनुस्मृतिको समयदेखि नै जातीय दमनको शृङ्खला सुरु भएको हो। जो इ.पू २०० देखि ३०० समयावधि हो। मनुस्मृति नै आजको विभेदको पहिलो चक्र हो। मतलब विभेदको चक्र उतिबेलादेखि नै चलाइएको हो भने विक्रमको १३८४ देखि १८०० सम्मको शक्तिशाली राज्य डुमकोट रहिरहनु यसैपनि अपवादको तथ्यांक हो।

००००

कथित खस साम्राज्य विस्तारको अभियानमा मूल वासिन्दा अनादिवासी माट्या शिल्पी समुदायले थप के के गुमाए? के कति अत्याचार सहे? आफ्नो भूमि, राजकाज, शिल्प सभ्यता र संस्कृतिबाट कसरी विस्थापित भए? उनीमाथि भएको उत्पीडनको इतिहास कसरी गायव पारियो? आदि प्रश्नको लागि विस्तृत खोज र अनुसन्धान जरुरी छ। (पृष्ठ ६०)  हाललाई यो पत्ता नलागेको विषय हो। त्यसैले हतपत ‘कथित खस साम्राज्य’ भनिहाल्नु हतार हुनेछ।

याे पनि: बाच्नलाई काठमाडाैंकाे चिसाेमा मकै बेचिरहेकी ७० वर्षीय आमा (भिडियाे)

हालसम्म पनि अस्तित्वमा रहेमा कला, सीप, वैभव सबै बनाउने सिपालु दलित नै हुन्। जसलाई खस सभ्यताले आफ्नो वैभव मानेको छ। साथै हेपिएको समुदायको बाजा कर्नालबाट बनेको कर्णालीको अस्तित्व मेटाउने प्रयत्न नहुनु खस साम्राज्य विस्तारपछि अत्याधिक दमन मात्र गरियो कि समन्वय पनि भयो खोज र अनुसन्धान गर्न जरुरी छ। 

००००

अध्ययन सशक्त रुपमा अगाडि बढेको छ। अध्ययताले शिल्पी दलित समुदायलाई कर्णालीका मुलबासी राजा आदिको रुपमा प्रस्तुत गरेका छन्। तर, श्रुतिलोकवाङ्मय काव्य सम्पदा र सांगीतिक जातिको वर्णन गर्ने क्रममा उनीहरुको सीप, कला, धुन आदीलाई राजाको सेवा चाकरीमा ल्याएर मिलाइदिएका छन्। जसले अध्ययनलाई अलमल्याएको छ। जस्तो सारंगीको मिठो सुरमा सवाई गाएर अन्य राज्यमा गोर्खाली राजाको कीर्ति फैलाउने गाइनेहरु प्रचारका ठूला साधन थिए। (पृष्ठ ७१) 

याे पनि: आर्यघाटमा लाश कुरेर बसेका घाटे भन्छन्– जीवनमा खुसीकाे अनुभव कहिल्यै गर्न पाइनँ (भिडियाे)

एउटा परम्परा अनुसार नागी मल्लको पालामा भाँडहरुले राजदरबारमा माटाका हुक्का बनाउने गर्दथे। यस सम्बन्धी प्रचलित एउटा कथा अनुसार पहिले राजाले तमाखु खान सुनको हुक्का बनाएर प्रयोग गरे। तर त्यसबाट राजालाई सन्तुष्टि भएन। यसैगरी क्रमशः तामा, चाँदीबाट बनेका हुक्काले पनि राजालाई सन्तुष्ट पार्न नसकेपछि भाँडहरुले (वादी) बनाएको माटाको चिलिममा तमाखु तान्दा औधी सन्तुष्टि पैदा भयो। (उही) जदौ जदौ महाराज, पैला ढोगु सेवा भलो।।।।। । (पृष्ठ ८१) 

शताब्दीऔं देखि सार्कीको पुस्ताले जीविकोपार्जनका लागि परम्परागत रुपमा छालाको उत्पादन र बेचबिखन गर्दै आएको इतिहास छ। छाला उद्योग जीविकोपार्जनको माध्यममात्र थिएन। यसबाट राज्य निर्माण र विकासमा यथेष्ट योगदान पुर्‍याएको तथ्यलाई बिर्सन मिल्दैन। त्यतिबेला छालाको पेशाकर्मीले राज्यलाई कर तिर्थे। (पृष्ठ ११६) के यी तर्क र तथ्यले कथित डुमहरुको राज्य थियो भनेर विश्वास गर्नलाई बल पुग्ला? 

याे पनि: अपाङ्ग छोरी स्याहार्दै ७४ वर्षिया बुढी आमै (भिडियाेसहित)

यसले ज्ञान, सीप, कला, प्रविधि, सभ्यता, लोक संगीत, संस्कृति आदिका आधारस्तम्भ मान्नलाई कर त लाग्छ नै तर राजकाज चलाएको तर्कलाई बलियो बनाउन सक्दैन। तर यत्ति चाहिँ भन्नै पर्छ, दलितको सीपलाई उपयोग गरेर खोज, अनुसन्धान र विज्ञानको विकास गर्न सकिन्छ।

दलित समुदायले राजकाज भन्दा पनि आफ्नो आविस्कारमा विश्वास गरेको देखिन्छ। यत्ति हो आफ्नो समूहको नेता चयन लगायतको आन्तरिक प्रशासन त सबैमा हुन्छ नै। त्यसैले दलित कला, संस्कृति, सीप, गीत संगीतका मात्र धनी होइनन्। खोज तथा अनुसन्धानकर्ता समेत हुन्। जुन पूर्वीय दर्शनको पहिलो विज्ञान हो।

पुस्तक केही कमिकमजोरीका कारण पूर्ण हुन सकेको छैन। अशुद्ध धेरै छ। जुन नेपाली भाषाका विज्ञको ठूलो चित्त दुखाइको विषय हुनेछ। हरेक पृष्ठमा न्युनतम तीन चारवटा वाक्य अशुद्ध छ। यसले सम्पादकीय मूल्यमाथि प्रश्न उठ्दा अस्वाभाविक मानिने छैन। पृष्ठ १९ मा एउटा वाक्य यस्तो छ, ‘यस ठाउँमा सार्की जातिका व्यक्तिले राज्य गर्दै आएको।।।’ यो वाक्यलाई जतिसक्दो मिठो र सरल रुपमा सम्पादन गर्न सकिन्थ्यो। सार्कीले भनेको भए सार्की जातिका व्यक्तिले भनिरहन जरुरी हुँदैनथ्यो। 

याे पनि: ११ वर्षकाे उमेरदेखि लुटिदैँ आएकी याैनकर्मी भन्छिन्–परिवारका लागि घर बनाउने इच्छा छ (भिडियाे)

आदरार्थीमा अध्येता पक्षपाती देखिएका छन्। कतिलाई तिमी भन्छन् भने कतिलाई तपाईं भन्छन्। यसमा उनको दिलचस्पी आदर छ। मानवशास्त्री डोर बहादुर विष्टलाई उनी भनेर सम्बोधन गर्छन् भने शत्यमोहन जोशीलाई उहाँ भन्छन्। (पृष्ठ ९) बीचबीचमा यस्तो प्रकारका आदर दोहोरिएका छन्। संगीतशास्त्री डा. क्यारोला टिङगीले दमाई संगीतबारे गहन अध्ययन गरी प्रज्ञा प्रतिष्ठान र बेलायतको एसओएएस बाट सन् १९९४ मा अर्को पुस्तक प्रकाशन गरेकी थिइन्। (पृष्ठ १३) सन् १८३७ मा सब भन्दा पहिले नेपाली संगीतमा अन्वेषण गर्ने विद्वान हुनुहुन्छ, डा. अलेक्जेन्डर क्याम्पबेल। (उही) 

अध्येता कर्णाली प्रदेशको भौगोलिक विकटताबारे जानकार देखिन्छन्। यसैलाई आधार मानी उनी सानो क्षेत्रको स्थलगत अध्ययनबाट वर्तमान कर्णाली प्रदेशको सबै दलितको अवस्थाबारे जानकारी लिन खोजिरहेका छन्। सभ्यताको उद्गम थलो जुम्ला वा सिंजालाई स्थलगत अध्ययन चयन गर्नबाट चुकेका छन्। जबकि उनले सिन्धुघाँटी र कर्णाली शिल्प सभ्यता एक सिक्काका दुई पाटा भएको ऐतिहासिक तथ्यलाई प्रमाणका रुपमा पेस गरेका छन्। यही उनको अध्ययको सबैभन्दा ठूलो सीमा हो।  

अमेरिकी मानवशास्त्री डा. मेरिडशनले भने जस्तै अनुसन्धानात्क लेख रचना पढ्नलाई बोझिला भएपनि गहन अध्ययनका लागि ओझिला हुन्छन्। इतिहासलाई वर्तमानसँग तुलना गरेर शासित वर्गको उत्थानका लागि सुझाव दिन बल पुगाउने यो पुस्तक कथित दलितबारे बुझ्नलाई सन्दर्भ सामग्री नभएपनि थप अध्ययनको भोक जगाउन सहयोगी हुनेछ।

प्रकाशित मिति: : 2020-02-23 02:57:00

प्रतिकृया दिनुहोस्