वामदेवलाई प्रधानमन्त्री बनाउने उपाय खोज्न नेकपाले बनायो संविधान संशोधन कार्यदल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमको आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने माग सम्बोधन गर्न संविधान संशोधन कार्यदल गठन गरेको छ।

पार्टी सचिवालयको शनिवार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले  वरिष्ठ नेतापूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको हो। 

कार्यदलका सदस्यमा संविधानसभा अध्यक्ष भइसकेका पूर्व सभामुख सुवास नेम्वाङ पनि रहेका छन् । नेकपा संसदीय दलका उपनेता नेम्वाङ वरिष्ठ अधिवक्ता समेत हुन् । 

कार्यदलका अर्का सदस्यमा खिमलाल देवकोटा रहेको नेकपा स्रोतले जनाएको छ। देवकोटा साविक माओवादीका तर्फबाट संविधानसभा सदस्य थिए । उनी पनि अधिवक्ता हुन् । नेकपा सचिवालयले उक्त कार्यदल गठनलाई गोप्य नै राखेको छ । 

नेकपाका एक नेताले दिएको जानकारीअनुसार, कार्यदलले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्न पाउने बाटो खोल्ने उपायसमेत सुझाउने जिम्मेवारी तोकिएको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको माग गर्दै आएका छन् । प्रधानमन्त्री बन्न नपाउने भएका कारण नै उनले गत राष्ट्रियसभा चुनाव लड्नसमेत अस्वीकार गरेका थिए । 

नेकपाका ती नेताले दिएको जानकारीअनुसार, गौतमलाई राष्ट्रियसभामा लैजान अहिले ५९ सदस्यीय रहेको राष्ट्रियसभा सदस्यको संख्यासमेत बढाउने तयारी छ। यसबारे नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष भूमिका खेल्ने स्रोतको दाबी छ। 

कार्यदलले राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायत मधेश केन्द्रित दलले उठाउँदै आएको संविधान संशोधनको मागलाई पनि कसरी सम्बोधन गर्ने भन्ने सिफारिश गर्ने छ। 

कार्यदल सदस्य खिमलाल देवकोटाले आफूलाई संविधान संशोधन कार्यदलमा राखिएको बारे अध्यक्ष प्रचण्डले संक्षिप्त जानकारी दिएको भए पनि उक्त कार्यदलको ‘टीओआर’ बारे विस्तृत जानकारी नभएको बताए। ‘आज अध्यक्षज्यूसँग पार्टी कार्यालयमा भेट हुँदा मलाई कार्यदलमा राखेको बताउनुभयो। यसबारे भोलि बिहान भेट्न बोलाउनुभएको छ’, उनले बिएल नेपाली सेवासँग भने ।

नेकपा स्रोतका अनुसार, उपाध्यक्ष वामदेव गौतमलाई हेरेर संविधान संशोध नगर्न लागेकाले कार्यदल नै गोप्य राखिएको हो । आगामी फागुन २० गते राष्ट्रिय सभाका नयाँ सदस्यले कार्यभार सम्हालेसँगै संघीय संसद्मा नेकपाको दुई तिहाई बहुमत पुग्ने छ । यसपछि नेकपा एक्लैले संविधान संशोधन गर्न सक्ने संख्या पुग्ने छ। 


 

प्रकाशित मिति: : 2020-02-24 07:15:01

प्रतिकृया दिनुहोस्