इंग्लिस प्रिमयिर लिगमा आर्सनलले एभर्टनलाई ३–२ ले हराएको छ।
पिएरे एमरिक अबामेयाङले दुई गोल गर्दा आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको हो। खेलको पहिलो मिनेटमा नै एभर्टनका काल्भर्ट लेविनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
२७औं मिनेटमा इडवार्ट एनकेटियाले गोल गर्दै आर्सनललाई खेलमा फर्काए। ३३औं मिनेटमा अबामेयाङले डेविड लुइजसको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए।
पहिलो हाफको इन्ज्युरी समयमा रिचार्डलिसनले गोल गरेपछि एभर्टनले पहिलो हाफमा आर्सनललाई २–२ गोलको बराबरीमा रोक्न सफल भयो। दोस्रो हाफको एक मिनेट पनि वित्न नपाउँदै अबामेयाङ्ले गोल गर्दै आर्सनललाई अग्रता दिलाए।
बाँकी समयमा एभर्टन खेलमा फर्किन नसक्दा आर्सनलले जित निकाल्यो। आर्सनल ३७ अंकसहित नवौं स्थानमा छ भने एभर्टन ३६ अंकसहित एघारौं स्थानमा छ।
अर्को खेलमा उल्भरह्याम्टन वान्डरर्सले नरविच सिटीमाथि ३–० को जित निकालेको छ। डियोगो जोटाले लगातार उत्कृष्ट प्रदर्शन गर्दा उल्भ्स आठौं स्थानमा उक्लिन सफल भएको छ।
जोटाले नरविचविरुद्धको खेलमा दुई गोल गरे। यसअघि युरोपा लिगको खेलमा जोटाले स्पान्योलविरुद्ध ह्याट्रिक गरेका थिए।
आफ्नो मैदानमा भएको खेलमा जोटाले १९औं मिनेटमा उल्भ्सलाई अग्रता दिलाएका थिए। ३०औं मिनेटमा उनले अर्को गोल थप्दा उल्भरह्याम्टनले पहिलो हाफमा दुई गोलको अग्रता लियो।
५०औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै उल्भ्सलाई ३–० को जित दिलाए। जितसँगै उल्भस ३९ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ। नरविच सिटी भने १८ अंकसहित पुछारमा छ।