उपप्रधानन्त्री पोखरेल र राष्ट्रसंघका महासचिवबीच न्युयोर्कमा भेटवार्ता

तस्वीर: संयुक्त राष्ट्र संघका महासचिवको कार्यालय

अमेरिका भ्रमणमा रहेका नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विहीबार संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटरेससँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

उनीहरूबीच राष्ट्रसंघको स्यायी नियोगको कार्यालय न्युयोर्कमा भेटवार्ता भएको हो ।

भेटघाटका क्रमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघले खेल्दैआएको भूमिकाको उच्च प्रशंसा गर्दै यसलाई थप सवल बनाउँन नेपालका पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गरेका थिए।

उनले शान्ति स्थापनाका लागि नेपालले छ दशकदेखि खेल्दैआएको भूमिकाबारे उल्लेख गर्दै शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति नेपालको चासो रहेको धारणा व्यक्त गरे। यही प्रसंगमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले शान्ति सेनामा महिला सहभागिता र राष्ट्र संघको मुख्यालय र शान्ति मिसनमा नेपाली शान्ति सेनाले नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर प्राप्त गर्नुपर्ने तर्फ ध्यानाकर्षण पनि गराएका थिए।

नेपालले आफ्नै विशेषताका आधारमा शान्तिप्रकृया टुंग्याएको बताउँदै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपालको शासन प्रणालीमा आम नेपालीको सहभागिता एवं समावेशिता सुनिश्चित गरेको र अब आर्थिक रूपान्तरणको अभियानमा जुटेको बताए।उनले यसमा संयुक्त राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको कुरा पनि उल्लेख गरेका थिए।

भेटवार्तामा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले नेपालले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा संयुक्त राष्ट्र संघले नेपाललाई सकारात्मक रूपमा सहयोग पुर्याउने वचन दिएका थिए।

प्रकाशित मिति: : 2019-03-29 08:32:08

प्रतिकृया दिनुहोस्