पोर्चुगलमा नेपाली दूतावास खोल्न माग

परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले पाेर्चुगलमा नेपाली दूतावास खाेल्ने प्रतिबद्धता जनाएका छन्। प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उनले पाेर्चुगलमा नेपाली दूतावास खाेल्ने बताएका हुन्।

मञ्चको एक प्रतिनिधिमण्डलले पटक पटक  पाेर्चुगलमा नेपाली दूतावास खाेल्नेबारे ध्यानाकर्षण गर्दा पनि नेपाल सरकारले चासो नदिएको भनी परराष्ट्रमन्त्रीसँग गुनासो गरेको थियो। परराष्ट्रमन्त्री ज्ञवालीले छिटोभन्दा छिटो याे समस्या समाधानका लागि आफू र सरकार प्रतिबद्ध भएको बताए।

प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी सबैसँग समन्वय र सहकार्य गरेर नेपाली समुदायको हकहितका लागि लाग्न पनि उनले अनुरोध गरे। यस्तै उनले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र  अवैध कमिशन लिन छुट नभएको बताएका छन्।

कार्यक्रममा स्पेन, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्डसलगायत युरोपेली राष्ट्रका प्रवासी नेपाली एकता  मञ्चका नेताकार्यकर्ताको सहभागिता थियो। 

प्रकाशित मिति: : 2020-02-25 04:15:02

प्रतिकृया दिनुहोस्