‘भीएआर’ले गाेलकाे मान्यता नदिएपछि मैदानमै राेए राेनाल्डाे

बिएल संवाददाता

काठमाडाै‌ं

लियोनले च्याम्पियन्स लिगको अन्तरगत भएको अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्सलाई हराएको छ। बुधबार बिहान भएको खेलमा युभेन्ट्सलाई हराउँदै लियोनले पहिलो लेगको खेलमा १–० को अग्रता लिएको हो।

घरेलु मैदानमा ईटालियन च्याम्पियन युभेन्ट्सविरुद्ध खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले विजयी गोल गरेका थिए। पाहुना टोलीले अधिकांश समय बल पोजिसनमा पकड जमाएपनि गोल निकाल्न भने सकेन।

गोलका लागि संघर्षरत युभेन्ट्सका लागि पाउलो ड्याबालाले खेलको अन्तिम समयमा गोल गरेका थिए। तर रेफ्रीले गोललाई अफसाईडको मान्यता दिएका थिए।

रेफ्रीले मान्यता नदिएपछि मैदानमा युभेन्ट्सका स्टार किस्टियोना रोनाल्डो भावविह्वल भएका थिए। उनले पटक पटक रेफ्रीलाई उक्त गोलको मान्यता दिन आग्रह गरेपनि ‘भीएआर’अर्थात भिडियो एसिस्टेन्ट रेफ्रीले भने मान्यता दिन सकेन। उक्त गोलले मान्यता नपाउँदा युभेन्ट्सले साघुँरो हार सामना गर्नुप¥यो। 

अब दोस्रो लेगको खेल युभेन्ट्सले मार्च १७ मा घरेलु मैदान एलिनाज स्टेडियममा खेल्ने छ। उक्त खेलमा युभेन्ट्सले कम्तिमा पनि २–० को जित दर्ता गरेमात्रै पनि अन्तिम ८ मा स्थान बनाउनेछ।

के हाे ‘भीएआर’ ?

नेदरल्याण्डको ‘द डच रेफ्रिइङ’ परियोजना–२ ले गोल लाइन टेक्नोलोजी विकास गर्‍यो। यसैको विकसित रुप ‘भीएआर’अर्थात भिडियो एसिस्टेन्ट रेफ्री हो। भार नेदरल्याण्डको फुटबल संघको महत्वाकांक्षी परियोजना थियो, जसको उद्धेश्य रेफ्रीको कामलाई सहज र विवादरहित बनाउनु हो।

दुई वर्षको परीक्षणपश्चात नेदरल्याण्ड फुटबल संघको पहिलो परियोजनाका रुपमा सन् २०१२ मा गोल लाइन टेक्नोलोजी सफल भएको थियो। गोल लाइन टेक्नोलोजीले बलले गोल लाइन पूरा पार गरेको थियो की थिएन भन्ने रेफ्रीको अलमललाई पूर्ण विराम लगाइदियो।र, बेलायती कम्पनी हक–आईले विकास गरेको त्यही परियोजनाको विस्तारित रुप भार हो।

सन् २०१४ मा नेदरल्याण्ड फुटबल संघले अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डसँग समन्वय गर्दै अनौपचारिक रुपमा नै खेलमा भिडियो एसिस्टेन्ट राख्न सुरु ग¥यो। तर त्यसबेलाका अध्यक्ष सेप ब्लाटर यो प्रविधिको विपक्षमा थिए। 

मानवीय गल्तीलाई फुटबलको अंग मान्ने ब्लाटर अध्यक्ष रहँदासम्म औपचारिकता पाउनु सम्भव थिएन। सन् २०१५ अक्टोबरमा नवनिर्वाचित अध्यक्ष जियान्नी इन्फान्टिनोले भारको प्रस्तावबारे नेदरल्याण्ड फुटबल संघका पदाधिकारीसँग छलफल गरे।

ठूला खेलमा त्यसअघि भएका विवादहरुले समस्या खडा गरेको घटनाले फिफाका पदाधिकारी पनि यो प्रविधिप्रति आकर्षित भइरहेका थिए। थिएरी हेनरीको ह्यान्ड गोल, जसका कारण फ्रान्सले सन् २०१० को विश्वकप खेल्न पाएको थियो। जर्मनीविरुद्ध फ्राङ्क लाम्पार्डको गोल पनि यस्तै घटना थियो।

सन् २०१६ मा फुटबल संघ बोर्डको बैठकले दुई वर्ष परीक्षण गर्ने निर्णय गरेपछि भारले औपचारिकता पाएको थियो। पहिलो परीक्षण दुईवटा मैत्रीपूर्ण खेलमा भयो। इटली र स्पेन तथा इटली र जर्मनीबीचको खेलमा परीक्षण भयो, तर त्यो खेलमा कुनै त्यस्तो घटना भएन।

भीएआरको उद्धेश्य ठूला घटनाहरुलाई विश्लेषण गर्ने हो। तर साना घटनाहरुमा पनि यसको प्रयोग हुन थाल्यो। भीएआरको प्रयोग खेलको स्थिति परिवर्तन हुन सक्ने अवस्था, गोलअघि, पेनाल्टी, रातो कार्ड, गलत खेलाडीलाई पहेँलो कार्ड जस्ता गल्तीहरुमा गरिनेछ।

गएको सिजन जर्मन बुण्डेस लिगा, इटालियन सिरी ए, पोर्चुगिज प्रिमेरा लिगा र इंग्ल्याण्डमा लिग कप र एफए कपमा पनि भीएआरको प्रयोग गरिएको थियो। परीक्षणका क्रममा भारको विपक्षमा हेडलाइन बनेका थिए।

अष्ट्रेलियाको ए–लिगको फाइनलमा मेलबर्न भिक्टर र न्यूक्यासल जेट्स भिडेका थिए। तर अफसाइड गोल भएको त्यो खेलमा भारले निर्णय दिन सकेन।

रसिया विश्वकप २०१८ मा पहिलो पटक विश्वकपमा भीएआर पूर्ण रुपमा प्रयोग भयो। यो प्रणालीमा पाँच अफिसियल– मुख्य रेफ्री, दुई जना सहायक रेफ्री, फोर्थ अफिसियल र भिडियो एसिस्टेन्ट रेफ्री रहन्छन्।

सबै अफिसियल हेडसेटमार्फत निरन्तर रुपमा सम्पर्कमा रहन्छन्। यस्तो अवस्थामा भिएआरले रेफ्रीलाई अफसाइडको बारेमा पनि अवगत गराउने काम गर्दछ।

१० वटा भीएआर मोनिटर अघि बस्ने भार अफिसियलले पनि रेफ्रीकै जस्तो जर्सी लगाउँछन्। मैदानमा मुख्य रेफ्रीका लागि एउटा छुट्टै मोनिटरको व्यवस्था गरिएको छ। जुन मोनिटरमा जुम–इन जुमआउट र फरक कोणबाट निरीक्षण गर्ने सुविधा पनि छ।

भीएआरले कसरी काम गर्छ?

खासमा यो एक थप रेफ्री हो जसले खेल हेरेर अफिसियलहरुलाई निर्णयमा सल्लाह दिन्छ। अभ्यासमा भने यो अलि जटिल हुन सक्छ।

१३ जना रेफ्री भिडियो असिस्टेन्ट रेफ्रीको रुपमा छानिन्छन्। खेल जहाँ भएपनि उनीहरु मस्कोको विशेष स्थानमा रेफ्रीले लगाउने कपडा लगाएर बसेका हुन्छन्, उनीहरुलाई देख्दा लाग्छ उनीहरु मैदानमा जतिखेर पनि प्रवेश गर्न सक्छन्।

यी मध्ये एकजना प्रत्येक खेलको लागि चुनिन्छन् र उनीहरुको तीन सहयोगीसहित टिम हुन्छ। त्यहाँ उनीहरुले रंगशालाभित्रबाट भिडियो स्ट्रिमिङ प्राप्त गर्छन्, जसमा स्लो मोसन क्यामेराको दृश्यसहित अन्य सबै क्यामेरामा कैद भएका दृश्य हुन्छन्।

भीएआरले सबै खेल पूरै हेर्छन्।यदि उनीहरुले केही गलत देखेमा रेफ्रीलाई जानकारी दिन्छन्। त्यसपछि रेफ्रीले आवश्यक ठानेमा उनी भीएआरसँग जोडिन सक्छन्। अथवा रेफ्रीले आफूले निर्णय दिइसकेपछि पनि केही दुबिधा भएर भीएआरको सहयोग लिन चाहेमा लिन सक्छन्।

अर्को अर्थमा भन्नुपर्दा भीएआरले सल्लाह दिने मात्रै हो। यदि भीएआरले रेफ्रीको निर्णयभन्दा उल्टो सल्लाह नै दिए पनि सबै निर्णय गर्ने अधिकार भने रेफ्री मै हुन्छ।

भिडियो रेफ्रीले के के सुझाव दिन सक्छ?

फिफाले यो प्रविधिलाई विश्वकपमा प्रयोग गर्ने अनुमति त दिएको छ। तर उसले यस प्रविधि केही सीमित निर्णयहरुको लागि मात्रै प्रयोग गर्न पाउने बनाएको छ।

१) गोल

गोल भएको हो कि होइन भन्ने हेर्नको लागि भीएआरको प्रयोग गर्न सकिन्छ। तर, गोलको लागि गरिएको प्रयासमा पनि यसले फैसला गर्न सक्छ, बलले जाली चुम्दा मात्रै होइन। यदि कुनै गोल दिँदा कुनै उल्लंघनले यसलाई रोक्न सक्छ भने भीएआरको सहयोगले यस्तो गोल दिनबाट रोक्न सकिन्छ।

२) पेनाल्टी

पेनाल्टी दिन उपयुक्त छ कि छैन भन्ने भीएआरमार्फत हेर्न सकिन्छ त्यस्तै दिइएको निर्णय उल्ट्याउन पनि सकिन्छ।

३) रातो कार्ड

यदि रेफ्रीले फल भएको निर्णय गरे भने भीएआर त्यस फलको लागि रातोकार्ड दिने कि नदिने भनेर निर्णय गर्न प्रयोग गर्न सकिन्छ। भिडियो प्रविधिको प्रयोगमा रातो कार्ड दिने नदिने निर्णय गर्नु धेरै विवादास्पद कुरा हुन सक्छ।

४) पहिचानमा गल्ती

भीएआरको जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण काम यो हो। यसले गलत खेलाडीलाई पो अनुशासनको कारबाही गरिएको छ कि भनेर हेर्ने काम गर्छ। र, यदि त्यस्तो भेटियो भने रेफ्रीले सच्याउन सक्छन्।

भीएआर प्रयोग भइरहेको कसरी थाहा पाउने ?

भीएआरको सम्पूर्ण प्रणाली रेफ्रीमा केन्द्रित हुन्छ। यसको प्रयोगको तीन तरिका छन्। पहिलो अवस्थामा रेफ्रीले आफ्नो कानमा जोडिएको यन्त्रमार्फत निर्णयमा समिक्षा गर्नुपर्ने सन्देश प्राप्त गर्न सक्छन्।

भीएआरले रेफ्रीलाई निर्णय परिवर्तन गर्ने वा नगर्ने संकेत दिनको लागि एउटा शब्द भन्ने गर्छन्।दर्शकहरुले यस्तो भैरहेको थाहा नपाउन पनि सक्छन् वा रेफ्रीले आफ्नो इयर पिस समातेको जस्तो मात्रै देख्न सक्छन्।

दोस्रो अवस्थामा भिडियो प्रक्रिया प्रयोग भएको अलि औपचारिक रुपमा देख्न सकिन्छ। यसको सहयोगको लागि रेफ्रीले हावामा टिभीजस्तो संकेत बनाउँछन् र भीएआर रेफ्रीले रिप्ले हेरेर सुझाव दिन्छन्। त्यसको लागि भीएआर रेफ्रीले यन्त्रमार्फत सन्देश दिन्छन्। त्यसपछि रेफ्रीले निर्णय गर्छन् र हावामा टिभीको जस्तो संकेत बनाएर खेल सुचारु गर्नेछन्।

तेस्रो अवस्था धेरै नै प्रष्ट हुन्छ। यसले रंगशालाको माहौल नै शान्त बनाउँछ र यो अलि निराशाजनक पनि हुन सक्छ। रेफ्रीहरु मैदान नजिकको सानो रिभ्यु स्टेशनमा जान्छन् र हावामा टिभीको संकेत बनाउँछन्। उनीहले त्यहाँ रिप्ले हेर्छन् र छलफल गरेर निर्णय गर्छन्।

सबै अवस्थामा रेफ्रीले भीएआर बिनाको परम्परागत तरिकामा झैं निर्णयको संकेत गर्छन्। निर्णय कसरी भयो भन्ने जानकारी दिन हावामा टिभीको संकेत बनाउँछन् र नियमित तरिकाबाट खेल सञ्चालन गर्छन्।

यो किन विवादित छ ?

भीएआर प्रयोगमा आउन धेरै समय लाग्यो। किनभने, यसले फुटबल खेलको गति र रोमाञ्चकतालाई बिगार्न सक्ने धेरैको डर थियो।

आलोचकहरुका अनुसार रेफ्रीहरुले भीएआर प्रयोग गरेर फुटेज हेर्दै निर्णय गर्दा त्यसले खेलमा बाधा दिन्छ। त्यस्तै यसले रेफ्रीको महत्वपूर्ण भूमिकालाई ओझेलमा पार्ने र खेलमा निर्णयको लागि यसमा भर पर्न बाध्य हुने अवस्था ल्याउने बताउँदै आएका छन्।

रसिया विश्वकपमा पहिलो पटक प्रयोग गरिएको यो प्रविधिको बारेमा खेलाडी, फुटबल प्रेमी र विश्लेषकको मत विभाजित हुँदै आएको छ।

विश्वकप समूह बी अन्तर्गत स्पेन र पोर्चुगलबीचको खेलमा भिडियोको सहायतामा खेलको निर्णय गरिएको थियो, जुन विश्व फुटबलको इतिहासमा पहिलो घटना थियो। सोचीमा भएको खेलमा स्पेनिस स्ट्राइकर डिएगो कोस्टाको कुहिनाले पोर्चुगलका डिफेन्डर पेपेको अनुहारमा लाग्यो।

२४औं मिनेटमा भएको त्यो घटनाका कारण पेपे मैदानमा लडे र त्यही मौकामा डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

स्पेनले त्यो गोलमा ठूलै खुसियाली मनायो। त्यस खेलका रेफ्री जियानलुका रोच्चीले भिडियो एसिस्टेन्ट रेफ्रीसँग सम्पर्क गरे। उनले केही गलत भयो की भनेर सोधे। सोचीमा भएको खेल एक हजार ६ सय किलोमिटर टाढा मस्कोबाट नियालिरहेको भारले जवाफ दियो, ‘सबै ठिक छ।’ र स्पेन खेलमा फर्कियो।

भीएआरको आलोचना जारी रहे पनि यसले खेलमा हुने रेफ्रीको गल्तीमा सुधार ल्याएको छ।

भीएआरले ढिलै भए पनि सही निर्णय दिइरहेको छ। मानिसहरु विवादास्पद कुरामा बढी ध्यान दिइरहेका हुन्छन्। जबसम्म उनीहरु कुनै टिमले भारको निर्णयबाट पाएको न्यायको बारेमा सोच्दैनन्, तबसम्म भारको बारेमा नकारात्मक टिप्पणी भइरहन्छ। भारले विश्वसनीय तरिकाले काम गरिरहेको छ। 

रेफ्रीको निर्णयलाई सम्मान गर्ने सिद्धान्त भीएआरको हो। खेल समर्थक र खेलाडीहरु खेलमा भावनात्मक रुपमा जोडिएको हुँदा रेफ्रीको निर्णयमा कहिलेकाहीँ आलोचना हुने गरेका छन्।

खेलकुद विज्ञानमा काम गरिरहेका वैज्ञानिकहरुले पनि भीएआरको विश्वसनियता ९३ प्रतिशतबाट बढेर ९९ प्रतिशतमा पुगेको प्रतिवेदन निकालेका थिए।

चार विधामा गरिएको अध्ययनले ५७ प्रतिशत भीएआरको रिभ्यू पेनाल्टी र गोलमा भएको उल्लेख गरेको छ। यस्तै एक खेलमा पाँच पटकभन्दा कम प्रयोग गरिएको र भारका कारण प्रति खेल ९० सेकेण्डभन्दा कम समय खर्च भएको उल्लेख गरेको छ।

यसको प्रयोग गर्दा खेलमा निर्णय गर्न समस्या भएको बेलामा मात्रै खेल रोकिने भएकाले खासै फरक पर्देन। यसले रेफ्रीबाट हुन सक्ने गलत निर्णय धेरै मिल्नेसम्म हटाउने भएकाले यसको प्रयोग आवश्यक छ।


 

प्रकाशित मिति: : 2020-02-28 01:20:28

प्रतिकृया दिनुहोस्