नेपाल आइडल: राेएर भाेट नपाइने रहेछ!

नेपाल आइडल सिजन-३ बाट रचना रिमाल बाहिरिएकी छिन्। बहिर्गमनसँगै अर्गानिक रचना भनेर निर्णायककी प्याम्पर्ड गर्ल बनेकी उनको यो सिजनको नेपाल आइडलको यात्रा पनि सकिएको छ।

नेपाल आइडलको मञ्चबाट बाहिरिदै गर्दा उनले आफूलाई यहाँसम्म ल्याउने आइडल परिवार र सबै दर्शकलाई धन्यवाद दिइन्। 

नेपाल आइडलको पहिलो सिजनदेखिकै निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै रहदैआएका छन्। होस्ट भने सिजनपिच्छे फेरिएका छन्। पहिलो सिजन सुशील नेपाल र रिमा विश्वकर्माले चलाएका थिए भने दोस्रो सिजनमा सुशीलको ठाउँमा आशीष साहको इन्ट्री भयो, रिमा यथावत रहिन्। अहिले रिमाको ठाउँ माम्पी घोषले लिएकी छिन् भने आशिष यथावत् छन्। 

यसपटक निर्णायकदेखि होस्टका बारेमा पनि जनमानसमा असन्तुष्टी देखिएको छ। निर्णायकको भाषा र जजमेन्टमाथि नै प्रश्न उठेको छ भने कुनै बेलाकी पवन कली मम्पी घोस 'माम्पी' भएको आइडलको हाउस स्टायल अनुसार नमिलेको भन्ने पनि छन्। आशीष यो कार्यक्रमका लागि सुरूमा खासै ठीक नलगाे पनि उनको सेन्स अफ ह्युमरको हाउस स्टायल बनेको जस्तो देखिएको छ।

यसअघि तीनपटकसम्म निरन्तर अत्याधिक भोट पाउदै आइरहेकी रचना यसपटक न्यून भोट पाएर आउट भएकी हुन्। यसअघि यस्तै प्रदर्शनीका आधारमा पनि सबैभन्दा बढी भोट पाउँने उनी कसरी एक्कासी यति तल झरिन्? कसले कति मत पाएको हो, देखाउनु नपर्ने यस रियालिटी शोमा कतै नाटकीय मोड त आएको हैन ? भन्ने प्रश्न पनि उठेको छ। 

झापाकी रचनाको स्वर राम्रो भए पनि गायकीका अरू पक्षमा उनको कमजोरी जो कोहीले पनि सजिलै छुट्याउन सक्थ्यो। यसका लागि न्ह्यु, कालीप्रसाद र इन्दिरा हुन नै आवश्यक पर्दैनथ्यो। तर, खासगरी वरिष्ठ निर्णायक न्हुको उनीप्रतिको अनुराग पटक पटक देखिन्थ्यो। शायद त्यसैको प्रभाव भोटरमा पनि पर्यो र उनले सबैभन्दा बढी मत पाउँने ह्याट्रिक बनाएकी थिइन्।

रचनामा सम्भावना छ। तर, त्यसका लागि उनले संगीतको औपचारिक अध्ययन, अभ्यास तयारी गर्नुपर्ने देखिन्छ। अहिले उनीसँग जे छ, त्यसका आधारमा भन्ने हो भने उनी यसअघि नै बाहिरिइसक्नुपर्ने थियो। तर, उनको भाग्य भन्नुपर्छ, शोमा कायमै रहिन्। यसमा उनको गल्ती छैन,गल्ती छ भने उनीलाई यहाँसम्म बोक्नेहरूले गरे। तर, दुर्भाग्य सजाय भने उनीभन्दा प्रतिभाशालीले पाइरहेका थिए !

यसो त निर्णायकले एक मात्र गोल्डेन माइक भिराएकी मेघा पनि अरूभन्दा अब्बल प्रमाणित हुन सकेकी छैनन्। गत साता त उनी अन्तिम तीनमै परेकी थिइन्।

 

प्रकाशित मिति: : 2020-02-28 12:28:15

प्रतिकृया दिनुहोस्