शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्वः महान्यायाधिवक्ता खरेल

झापाको बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ। आज एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका हुन्।

भवन शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन सम्पूर्ण पक्ष लाग्नुपर्ने बताए। उनले नागरिकको शिक्षा र स्वास्थको व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको औँल्याए। 

भवन निर्माणका लागि सांसद विकास कोषबाट प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए।

‘आगामी वर्ष थप बजेट विनियोजन गरेर निर्माण कार्य सम्पन्न गर्छौं’, उनले भने। यो वर्ष भवनको पाँच कोठा असार मसान्तसम्ममा बनाइसक्ने जनाइएको छ।

समाजसेवी होम पाण्डे, कृष्ण पाण्डे र हरि पाण्डेले बिर्तामोड–७ मा रु दुई करोड मूल्य बराबरको नौ कट्ठा जग्गा निःशुल्क दिएपछि सोही जग्गामा भवन निर्माण शुरु गरिएको हो। उनीहरुले क्याम्पस सञ्चालनका लागि रु एक करोडको अक्षयकोषसमेत स्थापना गरिदिएका छन्।

विसं २०७० सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन सङ्काय सञ्चालनमा पठनपाठन हुँदै आएको छ भने १२५ जना विद्यार्थी अध्ययनरत छन्। हाल भवन अभावका कारण क्याम्पसको पठनपाठन वडा नं ९ मा रहेको दुर्गा माविमा हुँदै आएको छ।

प्रकाशित मिति: : 2020-02-29 10:57:54

प्रतिकृया दिनुहोस्