राष्ट्रियसभामा तत्काल गौतम वा खतिवडा मनोनित नहुने, अर्थमन्त्रीमा खतिवडा निरन्तर

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य पदमा कसैलाई पनि सिफारिश नगरी अर्थमन्त्रीमा भने युवराज खतिवडालाई नै निरन्तरता दिने रणनीति अपनाउने भएका छन्। 

संविधानतः संसद् सदस्य नभए पनि छ महिना मन्त्री बन्न पाउने व्यवस्था छ। तत्काल कसैलाई पनि राष्ट्रियसभामा नपठाउने तर अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिने प्रधानमन्त्रीको योजना हो। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयको निर्णयको व्याख्या गरे, ‘वामदेव गौतमलाई राष्ट्रियसभा पठाउने भन्ने सैद्धान्तिक निर्णय हो तर राष्ट्रपतिबाट मनोनित हुने पदमा कसलाई पठाउने भन्ने प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो।’  

थापाको व्याख्याले पनि गौतमलाई तत्काल प्रधानमन्त्रीले मनोनयनका लागि सिफारिश नगर्ने अनुमान गर्न सकिन्छ। प्रधानमन्त्री ओलीलाई सचिवालयको निर्णयअनुसार गौतमलाई तत्काल सिफारिश गर्न दबाब दिइरहेका कारण खतिवडालाई मनोनयनका लागि सिफारिश गर्दा थप विवाद हुने भएकाले तत्काल सिफारिश नगर्ने भएका हुन्। छ महिनाभित्र उपयुक्त अवस्था बनाएर खतिवडालाई सिफारिश गर्ने रणनीतिमा प्रधानमन्त्री रहेको स्रोतको दाबी छ।   

मृगौला प्रत्यारोपणका लागि आजै अपरान्ह अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्रीमाथि कार्यकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालले उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न दबाब दिँदै आए पनि कसैलाई सिफारिश गर्ने छैनन्। 

राष्ट्रियसभा सदस्यको बुधबार हुने सपथग्रहणमा माघ ९ को चुनावमा विजयी १८ जनाको मात्र सपथग्रहण हुने स्रोतको दाबी छ। एक जना पछि मनोनित हुने र त्यसैबेला बेग्लै सपथग्रहण गराइने छ।

प्रचण्डले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा तत्काल गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्न र युवराज खतिवडालाई छ महिनाका लागि अर्थमन्त्रीमा निरन्तरता दिन सार्वजनिक रुपमै अभिव्यक्ति दिए पनि ओलीले त्यसलाई त्यत्तिकै थन्क्याइदिने भएका हुन्।

ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘राष्ट्रपतिबाट मनोनित हुने सदस्य तत्कालै मनोनित गर्नुपर्छ भन्ने छैन।’ उनले पहिलो संविधानसभाका २६ जना सभासद् राष्ट्रपतिबाट मनोनयन नभई गणतन्त्र कार्यान्वयन गरेको स्मरण गराए। 

नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय सर्वसम्मतिले गरेको थियो तर प्रधानमन्त्री ओलीले बैठकमै असहमति नजनाए पनि बैठक लगत्तै मनोनित पदमा गौतमलाई पठाउन नसक्ने बताएका थिए। उनले युवराज खतिवडालाई मनोनित गर्ने बताएका थिए।


 

प्रकाशित मिति: : 2020-03-03 01:20:49

प्रतिकृया दिनुहोस्