त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गरौंः मुख्यमन्त्री राउत

बिमला गुप्ता

जनकपुरधाम

मुख्यमन्त्री लालबाबु राउतले अगामी २० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नु पर्ने बताएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको ‘जनकपुरधाम २०४०’ दुरगामी सोच निर्धारण तथा समावेशी आर्थिक विकास योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठीको समुद्घाटन सत्रमा मुख्यमन्त्री राउतले धार्मिक ऐतिहासिक महत्व बोकेको जनकपुरधामलाई त्यसै अनुरुप विकास गर्नु पर्ने बताए।

उनले प्रदेश नं २को स्थायी राजधानी हुने प्रायः निश्चित रहेको जनकपुरधामको दिर्घकालिन विकासको योजना बनाउदा जनकपुरधामको ऐतिहासिक सांस्कृतिक महत्व र राजधानीको आवश्यकतालाई ध्यानमा राख्न सुझाव समेत दिए।

मुख्यमन्त्री राउतले जनकपुरमा भई रहेको अनियन्त्रित बस्ती विकासलाई रोक्नुपर्ने बताए।  अनियन्त्रित बस्ती विकासलाई रोकेर नगर क्षेत्र भित्र शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रहरुको लागि ‘स्पेशल जोन’सहितको अवधारणा ल्याउन आवश्यक छ,’ उनले भने।

जनकपुरधाम उपमहानगरले २० वर्ष पछिको जनकपुरको परिकल्पनासहित ल्याउने गुरुयोजनामा तीनै तहको सरकारले गर्नुपर्ने कामबारे स्पष्ट व्यवस्था गर्न सुझाव दिँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले गर्नु पर्ने कार्यमा प्रदेश सरकार प्रतिवद्ध रहने समेत उल्लेख गरे।

दुई दिने कार्यशालामा उपमहानगरपालिकाका पदाधिकारीहरु, नागरिक समाजका प्रतिनिधि , विज्ञ  सहितको  उपस्थिति रहेको छ।

प्रकाशित मिति: : 2020-03-04 01:58:18

प्रतिकृया दिनुहोस्