बम बिस्फोटमा आँखाको ज्योति गुमाएका सेनाका पवन, जो दृष्टिबिहिनलाई उज्यालो छर्दैछन्

जीवन बनिया

काठमाडौं

‘तपाईँसँग आज जे छ त्यो भोलि नहुन सक्छ, तपाईँसँग आज जे छैन त्यो भोलि हुन पनि सक्छ’, यहीँ भनाइका एक प्रतिनिधि पात्र हुन्-पवन घिमिरे।

जीवनमा अनेक उकाली ओरालीसँग सिगौरी खेल्दै हाल नेत्रहिन क्रिकेट संघ नेपालको अधक्ष र नेपाल दृष्टिविहिन कल्याण संघको महासचिवको रूपमा कार्यरत छन्।

ललितपुरको गोदावरी नगरपालिका-५ लेलेमा २०३५ साल असरा १४ गते जन्मिएका घिमिरेका तीन दिदी र एक भाइ पनि छन्।

हाल ललितपुरको कुसुन्तीमा श्रीमति शितल घिमिरेसहित दुई छोरी र एक छोरासँग बस्दै आएका छन्। २०६३ सालमा वैवाहिक सम्बन्धमा बाँधिएका पवन  बाल्यकालमा एकदमै चकचके थिए।

‘म बच्चा बेलामा एकदमै चकचके भए पनि पढाइमा तगडा भएकै कारण स्कुलमा गरिएका अधिकांश गल्तिहरू माफ हुन्थे’, बिएल नेपाली सेवासँग कुरा गर्दै घिमिरेले भने।

सानोहुँदा साथीभाइसँग फुटबल खेलेको, नजिकैको खोलामा सँगै माछामार्न गएको याद अझै झलझली आउने उनले बताए।

लेलेबाट गाडी चढ्न एक घण्टा पैदल हिँड्नुपर्ने र स्कुल पनि निकै टाढा भएकाले दिदीसँग आफू पनि कुसुन्तीमा कोठा लिएर बसेको बताए।

२०५० सालमा काठमाडौं माउन्ट भ्याली स्कुलबाट प्रथम श्रेणीमा एसएलसी पास गरेका उनले त्यसपछि अमृत साइन्स क्याम्पसमा आईएससी पढ्न थाले।

बुबा भैरवबहादुर घिमिरे बैंकका म्यानेजर थिए। हजुरबुबा आर्मीको क्याप्टेन थिए। हजुरबाकै बाटो पछ्याउँदै हजुरबुबाको सपना पूरा गर्न सेनामा भर्ना भए। २०५७ सालमा सेकेन्ड लेफ्टिेनेन्टमा नाम निकालेर नेपाली सेनामा प्रवेश गरे।

मुलुकमा जनयुद्व चलिरहेको थियो। २०६० सालमा उनको पोष्टिङ कालिकोटको जुमिगामा भयो।

सोही वर्षको साउन पूर्णिमाको दिन उनका लागि अभिश्राप बन्यो। ‘जनयुद्वको समय थियो, हामी चारै तिर तैनाथ भएर बाटोको निरीक्षण गर्दै थियौं। बाटोमा खनेर बम गाडेको रहेछ। निरीक्षणकै क्रममा उक्त बम बिस्फोट भयो।

‘एक्कासि मेरो खुट्टामै बम पड्कियो। म लडेँ। मेरो आँखाबाट केही वस्तु खसेजस्तो लाग्यो। झ्याप्पै अन्धकार छायो। मर्छुजस्तो लाग्यो। मेरो मुखबाट एउटै शब्द निस्कियो– आमा ! आमाको लागि भए पनि बाँच्न पाए हुन्थ्यो भन्ने लागिरह्यो,’उनले विगतको कहालीलाग्दो घटना सम्झिए।

 ‘आफूलाई होसमा पाउँदा शैनिक अस्पतालको बेडमा थिएँ। तर, आफू बाचे पनि संसार सबै अन्धकार भइसकेको थियो’, उनले विगत सम्झिए।

नेपालमा महिनौँ उपचार गरेपछि आँखाको उपचार गर्न पवनलाई भारतको हैदराबाद लगियो। डाक्टरहरू परिवारलाई पवनको आँखा ठीक हुने आश्वासन दिन्थे। तर, उनलाई भने विश्वास कम थियो। भयो पनि उस्तै उज्यालो संसारको प्रतिक्षामा रहेका घिमिरेको आँखाको ज्योति फर्किएन। करिब ४ महिनासम्मका देश विदेशका विभिन्न अस्पतालमा धाएर उपचारको आशमा अधिकांश रातहरू उज्यालोको पर्खाइमा नै बिते। तर, आँखाको ज्योति फर्किएन।

‘आफू होसमा आउँदा श्रीमति, जन्मदिने आमाको अनुहार देख्न पाइनँ। नजिक भएका साथीहरु टाँढा भए, आफन्तहरू परको देवता बने’,सबैका प्रिय पवनले दुर्घटना पछिको अवस्था बेली विस्तार लगाए।

त्यसपछि आफू ‘विचरा’ को पात्र भएको उनले बताए।

‘साथीभाइ र आफन्तको नजरमा बिचराको पात्र बन्नु पर्‍यो’, अन्तरवार्ताको क्रममा उनले भने, ‘आफन्तहरू आउँथे दाजु/भाइसँग राम्रो व्यवहार गर्थे। तर, मलाई दयाको पात्र बनाउँथे।’

आँखाको ज्योति गुमेपछि पवन करिब दुई वर्ष अँध्यारो कोठामा गुम्सिएर बसे। साथीहरू बाहिर निस्किँदा उनी अँध्यारो कोठामा बस्ने गर्थे।

उनका  लागि अब रूमका चार भित्ता र रेडियो नै साथी थियो। जनयुद्वकालमा दुर्घटनामा परेर दुबै आँखाको ज्योति गुमाएका पवनले त्यतिखेर सोचेका थिए-‘मेरो जीवन सकियो, अब म बाँच्नुको अर्थ केही छैन।’

यसै बिच मुलुकमा जनयुद्व पनि सकियो। आफ्ना कयौं साथीहरू सहिद भए, कोही अंग भंग भए कोही उनी जस्तै दृष्टिविहिन भए।

सोही बेला उनका बुबाले दृष्टिविहीनलाई पनि कम्प्युटर सिकाउँछ रे। त्यहाँ गएर सिक्न भने। तर उनले बुबाको कुरा नसुने झै गर्दै आँखै नभए पछि किन सिक्नुपर्यो‍ कम्प्युटर? भनेर केही दिन टारे। त्यसपछि बुबाले साह्रै कर गरे। ‘पछि बुबाको मन राख्न भए पनि मैले सिक्न जाने निधो गरेँ,’ उनले भने।

छडीले बाटो पहिल्याउँदै पवन कम्प्युटर सिकाउने ठाउँमा पुगे। कम्प्युटर सिक्ने ठाउँमा उनले आफूजस्तै दृष्टिविहीन साथीहरू भेटे।

त्यो वातावरणले उनलाई जीवनकै सबभन्दा ठूलो शिक्षा दियो। पीडामा पनि कसरी हाँस्नुपर्छ भन्ने पाठ सिकायो। अनि कम्प्युटर सिकाउने त्यो इन्स्टिच्युट उनका निम्ति जीवन सिकाउने विश्वविद्यालय बन्यो। नयाँ आशा र नयाँ सपना दिने ठाउँ बन्यो। उनले जीवनको नयाँ मोड भेटे।

त्यहाँ पुगेपछि उनले आफूलाई बाच्ने साहरा मिल्न थाल्यो, आफू भित्र भएको हिरा खोज्न थाले।

कम्प्युटर सिक्दासिक्दै पाकिस्तानबाट दृष्टिविहीनलाई क्रिकेट सिकाउने टोली नेपाल आइपुग्यो। उनी सिक्न गए। ‘सुरुमा गाह्रो भयो,’ पवनले सम्झिए।

भृकुटीभण्डपस्थित नेपाल नेत्रहिन संघमा पनि उनलाई बुबाले नै पुर्‍याएका थिए। तालिममा उनी अब्बल ठहरिए।

त्यसपछि २०६३ साउनमा नेपाल नेत्रहीन क्रिकेट संघ गठन भयो। केही समय उनी संघको उपाध्यक्ष बने। त्यही वर्ष संघको अध्यक्ष बनेका उनी हालसम्म सो पदमा कायम छन्। संघमार्फत दृष्टिविहीनलाई क्रिकेटको प्रशिक्षण दिन उनी देश दौडाहामा निस्किए।

अन्धकार वर्तमान, अन्योल भविष्य, परिवारको बोझ र समाजको हेला सहेर घरमै टोलाइरहेका दृष्टिविहीनलाई जम्मा गर्दै पवन झापादेखि कञ्चनपुरसम्म पुगे। जहाँ–जहाँ पुगे, दृष्टिविहीनका लागि नयाँ सपना लिएर पुगे, नयाँ जीवन लिएर पुगे।

त्यसपछि सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाकिस्तान गए। राम्रो बलिङ गर्न सक्ने घिमिरेले सन् २००८ को टी ट्वान्टी दृष्टिविहिन विश्वकप खेले।

त्यसपछि निरन्तर केही वर्ष उनी देशको प्रतिनिधित्व गर्दै दुबई, भारत, पाकिस्तान लगायतका मुलुकमा गएर क्रिकेट खेले।

दृष्टिविहिन भएका व्यक्तिले खेल्ने क्रिकेट सामान्य व्यक्तिहरुले खेल्ने भन्दा नितान्त भिन्न हुन्छ। आवाजको आधारमा खेलीने भएको कारण बल भित्र आवाज आउने बस्तु राखिएको छ। गुड्दै गएर बल ब्याट्समेनको नजिक पुग्छ अनि व्याट्सले बल हिर्काउछन् र बल टाढा जान्छ र खेलाडीले रन लिन्छन्।

खेल्ने बलमा छर्रा राखिएको हुन्छ। ‘बलिङ्ग बलिङ्ग’, ब्याट्समेन रेडि, किपर रेडी,–एस एस एस’ भनेपछि बलिङ्ग हुन्छ। त्यो पनि हावामा होईन भुईँमा गुडाएर। बल भुईँमा घिसारिँदै खल्र्याङ्ग, खुर्लुङ्ग गर्दै ब्याटसमेनकहाँ पुग्छ, अनि व्याडम्यनले बललाई व्याटको सहायताले हिर्काउछन्। बल टाढा जान्छ। आवाज कै द्यऋ-ज्ञआधारमा किपरहरुले बल समात्न दौडन्छन् । यता ब्याट्स मेनले रन लिन दौडिन्छन्।

दृष्टिविहिन क्रिकेटमा पनि ११ जना खेलाडी हुन्छन्। फिल्डिङ गर्ने खेलाडीहरूले बलको आवाज पछ्याउँदै गएर क्याच गर्नुपर्ने हुन्छ।

पवनले दुनियाँ देख्न सकेनन्, तर दुनियाँले उनलाई देख्यो। उनको आँखा छैन, तर बनेका छन् सारथि। उनी आँखा देख्दैनन्, तर बनेका छन् थुप्रैको प्रेरणाको स्रोत। यो अन्धकारबाट उज्यालोतिरको यात्रामा उनले चरम निराशाका क्षणहरू बिताए। कहालीलाग्दा उकाली चढे र बनिछाडे दृष्टिविहीन सारथि।

नेत्रहिन महिला क्रिकेट विकास गर्न महत्वपूर्ण योगदान दिएका घिमिरे नेपाल नेत्रहीन क्रिकेट सङ्घका अध्यक्ष छन्। उनकै नेतृत्वमा गठित सङ्घ मातहत झन्डै सात सय जना नेत्रहीन क्रिकेट खेलाडी रहेका छन्।

पवनले यसबिचमा २० जिल्लामा नेत्रहीन क्रिकेट संघको शाखा विस्तार गरिसके। अहिले देशभर पुरुष करिब पाँच सय र महिला करिब दुई सय नेत्रहीन क्रिकेटर रहेको उनी बताउँछन्। उनकै सक्रियताका कारण नेपालले विश्वकप क्रिकेटमा सहभागिता जनाउनुअघि नै २०१२ मा दृष्टिविहीन क्रिकेटरले नेत्रहीन क्रिकेट विश्वकपमा खेलिसकेका थिए।

अब पवनको जिम्मेवारी राष्ट्रिय स्तरमा मात्रै सीमित रहेन। सन् २०१८ मा भारतका प्रतिद्वन्द्वीलाई पछि पार्दै पवन विश्व नेत्रहीन क्रिकेट परिषद्का कोषाध्यक्ष चुनिए।

अन्तर्राष्ट्रिय रेफ्रीको समेत जिम्मेवारी सम्मालिसके। सन् २०१२ देखि २०१४ सम्म एसियन डेभलेपमेन्ट डारेक्टरका रूपमा समेत काम गरिसके।

पाकिस्तान दुबई, कुवेत, बेलायत भ्रमण गरिसके। क्रिकेट खेलेरै पाए, दृष्टिविहीन प्रतिभा पुरस्कार र अनगिन्ती सम्मानहरू। नेपाली सेनाले उनको साहसको कदर गर्दै मेजरमा बढुवा गर्यो‍। प्रधानसेनापतिदेखि राष्ट्रपतिसम्मले उनलाई ढाडस दिए।

क्रिकेटलाई दृष्टिविहीनहरूसम्म पुर्‍याउन विभिन्न तालिम तथा प्रतियोगिताहरू आयोजना गर्ने कार्यमा उनी यतिबेला सक्रिय छन्।

पवनले आँखाको ज्योति पुनः प्राप्त गर्ने सम्भावना अब करिब अन्त्य भइसक्यो। उनलाई अब जिन्दगीसँग कुनै गुनासो छैन। भन्छन्, ‘आँखा हुँदैमा जीवन सफल हुन्छ भन्ने छैन। आँखा नहुँदैमा जीवन असफल हुन्छ भन्ने पनि छैन। मुख्य कुरा, जीवनलाई हेर्ने दृष्टिकोण हो, अनि जीवनलाई सुन्दर र सार्थक बनाउन गरिने मेहनत हो।’

प्रकाशित मिति: : 2020-03-05 21:05:00

प्रतिकृया दिनुहोस्