नेपाल अहिले ‘गोल्डेन पिरियड’मा छ, सुझबुझपूर्ण काेराेनाकाे राेकथाम गर्न तयारी गरौं: थापा

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसको तयारीका लागि नेपाल अहिले ‘गोल्डेन पिरियड’मा रहेको बताएका छन्। उनले नेपालजस्तो अरु देशले तयारीका लागि समय नपाएको भन्दै यो समयलाई सदुपयोग गर्नुपर्ने बताए। 

प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले कोरोनाभाइरस संक्रमणबाट तर्सने होइन, सचेत हुनुपर्नेमा जोड दिए। ‘कोरोना भाइरस सचेत रहने हो तर्सने होइन,’सांसद थापाले भने, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ। हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन।’

उनले सुझबुझपूर्ण ढंगले सतर्कता गर्नुपर्ने बताए। ‘सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु। तर, सुझबुझपूर्ण तयारी गरौं,’ उनले भने, ‘छरपष्ट होइन एकजुट भएर तयारीमा जुटौं।’

थापाले टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताए। उनले खालि होटल, विद्यालयलगायतलाई आइसोलेसन बनाउन सकिने उनले बताए।

संसदमा थापाले राखेको सार्वजनिक महत्वको प्रस्तावलाई कांग्रेस सांसद दिब्यमणिराज भण्डारी, राजेन्द्र केसीले समर्थन गरेका छन्।
 

प्रकाशित मिति: : 2020-03-07 00:56:18

प्रतिकृया दिनुहोस्