प्रमका मिर्गौला सर्जन डा. ज्ञवाली भन्छन्– प्रत्याराेपण गर्न काेही विदेश जानुपर्दैन (भिडियाे)

 माधव ढुङ्गेल

काठमाडाैं

प्रा.डा. प्रेमराज ज्ञवाली,५४। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जका युरोलोजी विभागका शल्यचिकित्सक हुन्। दुई दिनअघि बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकहरूको टोली–प्रमुख थिए– डा. ज्ञवाली। उनैको नेतृत्वमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

मिर्गौलाको सफल प्रत्यारोपणको करिब ४४ घन्टापछि बिएल नेपाली सेवासँगको भेटमा उनीसहित प्रधानमन्त्रीको उपचारको जिम्मा शिक्षण अस्पतालका पदाधिकारीहरू सन्तुष्ट र खुशी देखिन्थे।  

शिक्षण अस्पतालमा २०६४ साल साउन २४ गते मिर्गौला प्रत्यारोपण सुरु गरेदेखि नै डा. ज्ञवाली उक्त विभागमा कार्यरत छन्।  अहिलेसम्म त्यहाँ झण्डै सात सय प्रत्यारोपण भइसकेको छ। 

सरकारी छात्रवृत्तिमा रुसबाट एमबीबीएस र स्नातकोत्तर गरेका चिकित्सक हुन्– डा. ज्ञवाली। उनले सिंगापुर गएर मिर्गौला प्रत्यारोपणको तालिम लिएका थिए। रुस पढ्न जानुअघि हेल्थ असिस्टेण्टका रुपमा कर्णालीका दुर्गम जिल्लामा बसेर काम गरेको अनुभव पनि छ उनीसँग। 

प्रधानमन्त्री ओलीको स्वास्थ्य र मिर्गौला पुनःप्रत्यारोपण गर्दाको अनुभवमा केन्द्रित रहेर प्राध्यापक डा. ज्ञवालीसँग माधव ढुङ्गेलले गरेको संवाद। 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?
एकदम राम्रो छ। अपरेशनका लागि भर्ना भएको तीन दिन भयो। अपरेशनको समयले त ४८ घन्टा पनि पुगेको छैन। आज ३ बजे ४८ घन्टा पुग्छ। स्वास्थ्यमा अपेक्षाकृत नै प्रगति भएको छ। नकारात्मक संकेत केही पनि छैन। मिर्गौला प्रत्यारोपण गर्‍यौँ। त्यसले काम गर्न थालिसक्यो।

संक्रमण हुनसक्ने भन्ने गम्भीर खतरा चाहिँ कहिलेसम्म हो ?
उहाँले लामो समयसम्म औषधिहरू खानुपर्छ। जहिले पनि संक्रमण हुनसक्छ। यो खतरा अहिले अलि धेरै हुन्छ। उहाँलाई आइसोलेसनमा राखेको कारण नै त्यही हो। अहिले कसैलाई पनि भेट नदिनुको कारण नै इन्फेक्सन होला भन्ने डरले हो। 

अब कति दिन राख्नुपर्छ अस्पतालमा ? 
अस्तिदेखि आजसम्म जुन हिसाबले प्रगति भइरहेको छ, त्यही किसिमले गयो भने त अर्को तीन–चार दिन। आइतबार सोमबारसम्म डिस्चार्जका लागि तयार हुनुहुन्छ कि ! त्यो हाम्रो इच्छा हो। त्यही अनुसार हुनुहोला जस्तो लाग्छ। 

हाम्रो इच्छा होला। उहाँको इच्छाशक्ति त झन् प्रबल छ भनिन्छ। चिकित्सकीय हिसाबले कतिदिनमा घर पठाउन सकिन्छ ?
हाम्रो नियमित अभ्यास हो– बुधबार हामी मिर्गौला प्रत्यारोपण गर्छौं। बीचमा केही समस्या आएन भने आइतबार–सोमबार डिस्चार्ज गर्ने चलन छ। प्रधानमन्त्रीजीको पनि त्यही गतिमा गइरहेको छ।

प्रधानमन्त्रीले शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गर्छु भनेर सुरुमा भन्दा कस्तो लागेको थियो ?
हामीलाई त आफ्नो क्षमताप्रति विश्वास थियो। हाम्रो अस्पताल, हाम्रो विभाग र हामीले गरेको कामको परिणाम हेर्दा हामी सक्षम नै छौँ भन्ने लागेको थियो। हामी गर्न सक्छौँ भन्ने नै लागिरहेको थियो। तर, त्यही हो नि ! हाम्रो विभागको प्रमुख हुनुहुन्छ– डा. उत्तम। प्रधानमन्त्रीजस्तो मान्छे अस्पतालमा आउँदा र छनौट गर्दा अलिकति हाम्रो विभागलाई नै अलिकति मानसिक दबाब बढी नै हुन्थ्यो। प्राविधिक रूपमा हामीलाई अरु मान्छे र प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा केही फरक थिएन। 

प्रधानमन्त्री भर्ना भएसँगै आममान्छेको नजर शिक्षण अस्पताल र टीम लिडरको हिसाबले तपाईंमाथि थियो। त्यो दबाब त महसुस थियो होला नि !
अपरेशनमा गएर अपरेसन गर्दासम्म हामी कसैको सम्पर्कमा थिएनौँ। अपरेशन सकिसकेपछि अनलाइनहरू हेर्न थालेको, अनि त्यो दबाब थाहा पायौँ। समाचार आउन थालिसकेछन्– अस्पतालबाहिर यस्तो भीड छ भनेर। हामी भित्र–भित्रैबाट गएर हेर्दाखेरी जब अस्पतालमा मास देख्यौँ, अनि बल्ल डर सुरु भो। 

प्रधानमन्त्रीले यहीँ प्रत्यारोपण गर्नुभो। सन्देशको हिसाबले अत्यन्त राम्रो भयो। अस्पतालको ख्याति र नेपालको चिकित्सा क्षेत्रप्रति आम मान्छेको विश्वासको कत्तिको बढ्यो भन्ने लाग्छ ?
हामी धेरै गौरवान्वित भएका छौँ। हाम्रो मेडिकल फ्याटर्निटीहरू सबै खुशी छौँ। प्रधानमन्त्रीले हाम्रो अस्पताललाई छान्नु नै महानता हो। हाम्रो इज्जत पनि बढेको छ। हामीले अहिलेसम्म यो काम गरेरै आएका थियौँ। प्रधानमन्त्रीको उपचारले जनतासामु सन्देश गयो– त्रिवि शिक्षण अस्पतालले यो काम गर्न सक्दो रहेछ। त्यहाँ यस्ता किसिमका चिकित्सक रहेछन्। अरु फ्याकल्टी, अरु नर्स टीमहरू रहेछन्। जेहोस्, सन्देश गएको छ– त्यहाँ राम्रो हुँदो रहेछ र त प्रधानमन्त्रीजीले छान्नुभएको होला नि ! अस्पताल पनि खुशी छ। मलाई लाग्छ– अस्पताल पनि खुशी छ। हामीलाई पनि हौसला मिलेको छ। 

हाम्रो संविधानले सबै मान्छे समान छ भन्छ। चिकित्सा विज्ञानको सिद्धान्तले भन्छ– सबै बिरामी समान हुन्। तर, आममान्छेको आशा र देशप्रतिको जिम्मेवारीले चाहिँ प्रधानमन्त्री स्वाभाविक रुपमा बढी हुन्छ। जब अपरेशन सफल भएर मिर्गौलाले काम थाल्यो, त्यसबेला के महसुस गर्नु भो ?
खुशी लाग्यो। हाम्रो धेरैजसो ९९ प्रतिशत बिरामीकै अपरेशन गर्दा गर्दै टेबलमा अपरेशन नसक्दै पिशाब आउन सुरु गरिसकेको हुन्छ। त्यसैमध्ये प्रधानमन्त्रीजी पनि पर्नुभो। मिर्गौलाले काम गर्‍यो भन्ने भयो। खुशी लाग्यो।

आममान्छेले टिप्पणी गर्छन्– प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि संसारकै राम्रो अस्पतालका सुविधा र चिकित्सक यहीँ उपलब्ध गराइयो। प्रधानमन्त्रीलाई जस्तै सुविधा आममान्छेका लागि भोलिका दिन उपलब्ध हुन्छ ?
होइन। त्यो पटक्कै होइन। प्रधानमन्त्रीजीका लागि उहाँको सुरक्षाको कुरा मुख्य हुन्छ। प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीजीहरू कहीँ जाँदा पनि सुरक्षाको कुरा हुन्छ। सुरक्षाको प्रतिशत चाहिँ अलि बढेको हो। त्यो जहाँ पनि हुने गर्छ। अरु कुराहरू– हाम्रो टेक्निक, औषधिको प्रयोग उही हो। अपरेशनको दिन पनि हामीले उहाँका लागि छुट्टै दिन गरेको होइन। बुधबार हाम्रो अपरेशन गर्ने ‘सेड्युल’ नै हो। त्योभन्दा अगाडिको बुधबार पनि गरेका थियौँ। अस्ति पनि गर्‍यौँ। आगामी बुधबार पनि गर्छौं। उहाँले अरुको लाइन मिचेर बीचमा छिरेर गरेको होइन। त्यो गलत हो। 

अब कति वर्षसम्म प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्ला ? 
उहाँको मनोबल हेर्दा त प्रधानमन्त्री दुई–चार हप्तामै तपाईंहामीभन्दा बढी तगडा भएर निस्कनुहुन्छ। तर, त्यो मिर्गौलाले कति वर्ष काम गर्छ भन्ने कुरा कसैले पनि भन्न सक्दैन। संसारको कुनै पनि ठाउँमा गएर भन्न सकिँदैन। साधारणतया प्रत्यारोपण गरिएको मिर्गौलाले १५–२० वर्ष काम गर्छ। हुनसक्छ– उहाँको मिर्गौलाले त्योभन्दा बढी काम गर्छ वा कम काम गर्छ। यति समयसम्म काम गर्छ भनेर हामीले किटान गर्न सक्दैनौँ।

यत्ति ठूलो काम गर्नुभो। आम देशवासीले चिकित्सकको टोलीलाई धन्यवाद दिएका छन्। तपाईं केही भन्नुहुन्छ उहाँहरूलाई?
मिर्गौला प्रत्यारोपण भन्ने जुन विषय छ, यो एकजना व्यक्तिले गर्ने विषय होइन। पूरा टीमले गर्ने कुरा हो। हाम्रो विभागबाट सात जना सर्जन त्यसमा सहभागी भएका छौँ। एनेस्थेसिया विभागबाट पाँच छ जना डाक्टरहरू हुनुहुन्छ। नर्सिङ डिपार्टमेन्टबाट त्यत्तिकै नर्सहरू संलग्न हुनुभएको छ। त्यो प्रत्यक्ष रुपमा अपरेशनको बेलामा संलग्न भएको टीम हो। त्योभन्दा बाहिर हाम्रो प्याथोलोजी, रेडियोलोजीमा संयुक्त कार्यले सफल हुने कुरा हो। त्यसैले हामी धेरै खुशी छौँ। हाम्रो विभाग खुशी छ। अस्पताल खुशी छ। हामी सबै–सबैलाई धन्यवाद दिन चाहन्छौँ। यत्तिमात्र भन्न चाहन्छु– हामी सक्षम छौँ। हाम्रा अस्पतालहरू सक्षम छन्। मिर्गौलासम्बन्धी कुनै पनि उपचार लिन कुनै पनि नेपाली बाहिर जानु पर्दैन। यो सन्देश दिन चाहन्छु। 

प्रकाशित मिति: : 2020-03-07 05:47:02

प्रतिकृया दिनुहोस्