च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोना र नापोलीविरुद्धको खेल दर्शकविनाको बन्द रंगशालामा हुने भएको छ।
लिगको दोस्रो लेगअन्तर्गत नापोली र बार्सिलोनाले खेल्दैछन्। १८ मार्चमा हुने यस खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।
यसअघि नापोलीको मैदानमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण बार्सिलोना र नापोली दर्शकविनाको बन्द रंगशालामा खेल्न लागेका हुन्।
क्याटलोनिया सरकारले कोरोनाको त्रासका कारण सो खेल दर्शकविनाको बन्द रंगशालामा खेलाउने निर्णय गरेको हो ।
च्याम्पियन्स लिगअन्तर्गत भ्यालेन्सिया र अटलान्टाबीचको खेल पनि बन्द रंगशालामै हुने भएको छ। यी दुवै क्लबले कोरोना भाइरस संक्रमणका कारण बन्द रंगशालामा खेल्ने निर्णय गरेका हुन् ।
यता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमण्डबीचको खेल पनि बन्द रंगशालामा हुने भएको छ।