स्वीटजरल्याण्डमा कोरोना फैलिँदैः तीन जनाको मृत्यु, मास्क पाइन छाड्यो

लक्ष्मण देवकाटा

जेनेभा ब्यूरो

संसारकै सम्पन्न मुलुकमा गनिएको स्वीटजरल्याण्डमै विश्व स्वास्थ्य संगठनको मुख्यालय छ। मुख्यालयमा चौबिसै घण्टा खटिएको छ कोरोना भाइरस विरुद्ध डाक्टर, विशेषज्ञ र नीति निर्माताको टोली। संगठनकै मुख्यालयको वरिपरि छन् संयुक्त राष्ट्रसंघको जेनेभा कार्यालय, विश्व ब्यापार संगठन, रेडक्रस, अन्तर्राष्ट्रिय श्रम संगठनलगायत अन्तर्राष्ट्रिय संगठनका मुख्यालयहरू।

दिनहुँ हजारौंको संख्यामा हुने सभा, सम्मलेन, छलफल, गोष्ठी, प्रदर्शनी, ब्यापारिक प्रतिष्ठानका कार्यक्रमको चहलपहल कोरोना भाइरसको कारण स्वात्तै घटेको छ। हिजो मात्रै विश्व ब्यापार संगठनको मुख्य कार्यालयका निर्देशककै सचिवालयका उच्च तहका कर्मचारीलाई नै कोरोना भाइरसले समात्यो।

उच्च तहकै कर्मचारी संक्रमित भएपछि अप्रिल १५सम्म सबै कार्यक्रमहरु स्थगित भएको खबरसँगै जेनेभाका अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत कर्मचारीको त्रसित छन् ।

मार्चको पहिलो हप्तामा शुरू हुने लगभग ६ लाख मानिसहरुले हेर्ने जेनेभा मोटर सो, ५० हजार सहभागी हुने इन्भेन्सन फेयर, ४० हजार सहभागी हुने मानव अधिकार फिल्म महोत्सव, संयुक्त राष्ट्रसंघका ठूलासाना दुई सय कार्यक्रमहरु स्थगित भएको छ भने अरू संस्थाका कार्यक्रमहरु पनि स्थगित छन्। सरकारले हजार जना भन्दा बढी जम्मा हुन प्रतिबन्ध लगाए पनि मानिसहरू जमघटमा जान डराएका छन्। यद्यपी बाहिर सार्वजानिक यातायात र पैदल यात्रुहरु भने बिना मास्क निर्धक्क हिँडेका  देखिन्छन्। सरकारले त्रसित हुने अवस्था नभएको भने पनि मानिसहरु भीडमा जान हच्किएका छन् ।

तीन जनाको मृत्युः ५ सय संक्रमित

स्वीटजरल्याण्डमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रयोगशाला रहेको जेनेभाको अस्पताल पुगेको यो संवाददातालाई अहिलेसम्म ५ सय जना संक्रमित रहेको तथ्यांक दिइयो।

तीनै जना ७० वर्षभन्दा माथिका व्यक्ति हुन्। मौसम फेरिने बेला रुघाखोकी भाइरल हुने स्वीटजरल्याण्डमा सजिलै फैलिने हो कि भनेर सरकारले जनचेतनाको निम्ति कुनै कसर बाँकी राखेको छैन। पत्रपत्रिकामा पर्चाहरू छापिएका छन् । ठाउँठाउँमा सूचना राखिएको छ।

रेल, बस, मेट्रो सबैतिर पानी धेरै पिउने, हात धुने, हात नमिलाउने जस्ता भाइरसबाट बाँच्ने उपायहरुको सूचना नियमित प्रकाशित प्रसारित गरिएको छ ।

मास्क र हात सफा गर्ने झोल पाइन छाड्यो

कोरोनाको हल्ला फैलिएसँगै स्वीट्जरल्याण्डमा पनि मास्क पाइन छाडेको छ।

पाइए पनि असाध्यै महंगो दरमा बेचबिखन भइरहेको छ। यसको लागि गुनासो गर्ने कुनै निकाय छैन। जेनेभाको युनिभर्सिटी अस्पतालमा एक जनालाई एकप्याकेटका  दरले बेचिएको पाइयो। फार्मेसीहरुले लूट मच्चाउने मौका स्वीटजरल्याण्डमा पनि पाएका छन्।

हात सफा गर्ने झोल त कतै पनि पाइन्न। स्थानीय प्रशासनसँग सोध्दा, भाइरसको हल्लाले सामानको अभाव भएको जानकारी पाइयो। फेरि कहिले पाइने हो त्यसको जानकारी कसैसँग पनि छैन।

स्वास्थ्य संगठन भन्छः रोकथाम हुन्छ

विश्व स्वास्थ्य संगठनका निर्देशक डा टेड्रोसले कोभिड १९ लाई सबै देशले उत्तिकै खतरनाक रुपमा लिएकोले यसको रोकथाम हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन्। भाइरस फैलिन नदिन सबैले ख्याल गर्न अनुरोध गर्दै संसारभरिका वैज्ञानिकहरु, सरकारहरु क्रियाशील रुपमा यसलाई रोक्न लागिपरेको हुनाले कसैलाई दोष नदिई स्थिति अझ बिग्रन नदिन सबैले विचार गर्नुपर्ने उनले बताए ।

इटाली आतंक र नेपाली दूतावास जेनेभाको वक्तव्य

चीनपछि अति प्रभावित मानिएको इटालीमा अहिलेसम्म ६ सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। लोम्बार्डी मिलान आसपासमा झण्डै ५ सय नेपालीहरु रहेको गैर आवासीय नेपाली संघका सदस्यले बताएका छन् ।

इटालीमा कोरोनाको प्रभाव बढिरहेको र स्विसमा पनि फैलिदै गएको सम्बन्धमा चेतनामूलक वक्तव्य निकाल्दै नेपाली राजदूतावास जेनेभाले कुनै पनि सहयोग चाहिएको खण्डमा सम्पर्क राख्न अनुरोध गर्दै वक्तव्य जारी गरेको छ। इटाली पनि जेनेभाकै दूतावासले हेर्छ। रोममा रहेका महावाणिज्यदूत पाउरो नुगारीको नम्बर ००३९ ३३५ ४०४५ ४०,जेनेभामा काउन्सेलर कुमार राई ००४१ ७८८०१ २१९८ र द्वितिय सचिव भुवन पौडेललाई ००४१ ७८६ ९७९ ६४३ नम्बरमा सम्पर्क गर्न दूतावासले आव्हान गरेको छ ।

स्वीसमा कुनै समस्या देखिए ००४१ ५८ ४६३ ०००० र इटालीमा हटलाईन १५००मा चौबिसै घण्टा सम्पर्क गर्न सकिनेछ। दुवै देशमा अहिलेसम्म कुनै पनि नेपालीमा कोरोना भाइरस देखिएको छैन।

प्रकाशित मिति: : 2020-03-12 07:31:39

प्रतिकृया दिनुहोस्