प्रदेश २ को नाम र राजधानी गोप्य मतदानबाट टुंगो लगाइने

 प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी मंगलबार टुंगो लगाइँदै छ। त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ।

नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ।

मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने सभामुख सरोज कुमार यादवले बताए। बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ। छलफल सकिएलगत्तै मतदान हुने सभामुख यादवले बताए। यसका निम्ति सबै तयारी भइसकेको  छ।

प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ। यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन। 

प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन्। सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन्।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन्। सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ। नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन।

यसअघि नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो। विशेष समितिमा पनि दलहरुबीच स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भए पनि नामको विषयमा सहमति हुन सकेन।

प्रकाशित मिति: : 2020-03-17 20:55:40

प्रतिकृया दिनुहोस्